मन्त्री योगेश भट्टराईले भने ‘पर्यटन क्षेत्रका श्रमिकले चाहे वैकल्पिक काममा लगाउँछौँ’

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सक्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उनीहरूले चाहे वैकल्पिक काममा लगाउने विषयमा अध्ययन भइरहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले पर्यटन क्षेत्रका श्रमिकलाई हिमाल सफाइ, पर्यटकीय क्षेत्रको सरसफाइ वा यस्तै अन्य काममा लगाउन सकिने बताए । उनले पर्यटन क्षेत्रमा रहेको खर्बौं लगानीको सुरक्षाका लागि सरकारले योजना बनाइरहेको पनि बताए ।

उनले भने, “कोरोनाका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ । होटल, एयरलाइन्स पूर्ण रूपमा बन्द छन् । पर्यटन क्षेत्रमा सरकारी र निजी क्षेत्रको समेत गरी १५ खर्ब बढीको लगानी छ, त्यसलाई जोगाउन सरकारले विभिन्न योजना बनाइरहेको छ ।”

उनले होटल व्यवसायीहरूको माग बैंकको ब्याज, किस्ताका विषयमा पनि सरकारले सम्बोधन गर्ने बताए । उनले हालको अवस्था कतिसम्म लम्बिन्छ भन्ने थाहा नभएकाले परिस्थिति हेरेर सोहीअनुसार योजना बनाइने बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन एक महिनाको पर्यटन बिदा दिने योजना पनि उनले अगाडि सारेको बताए ।

“यसले आन्तरिक पर्यटनलाई जागरुक बनाउन सहयोग गर्छ र यसमा गरिएको लगानीलाई बचाउन पनि सहयोग गर्छ,” उनले भने । हाम्रो देशमा मात्रै पनि अवस्था राम्रो भएर नहुने भएकाले सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन लागेको उनले बताए ।

Back to top button