ताप्लेजुङको नगरपालिकाले नै गर्यो केन्द्र सरकारको कोषमा सहयोग

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा हुने गरी आइतबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई सो रकम बराबरको चेक प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

सम्पूर्ण मुलुकवासीले समस्या भोगिरहेको अहिलेको विषम परिस्थितिमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक आय स्रोतबाट जम्मा भएको रकम सहयोग गरेको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए।

यसअघि सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ताप्लेजुङले समेत केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० हजार सहयोग गरेको थियो । रासस

Back to top button