विश्वमा कोरोना : १ लाख ३४ हजारको मृत्यू, संक्रमित बढ्दै

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ । वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सम्म १ लाख ३४ हजार ६ सय ३ जनाको मृत्यू भइसकेको हो ।

विश्वमा २० लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित छन् । त्यस्तै पाँच लाख १० हजार भन्दा बढी मानिस निको भइसकेका छन् ।

विहानको तथ्याङ्क अनुसार अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २९ पुगेको छ ।

अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ । सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ । अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन् । अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ ।

फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ । इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।

बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ । त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन् ।

Back to top button