प्रदेश १ ले सार्वजनिक गर्यो बजेट निर्माण गर्ने ‘दिग्दर्शन’

विराटनगर ।  प्रदेश १ सरकारले बजेटलाई पारदर्शी र छरितो बनाउन ‘प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६’ सार्वजनिक गरेको छ। यो दिग्दर्शन नेपालकै पहिलो भएको प्रदेश सरकारको दाबी छ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिग्दर्शन सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले अब माग र सम्भावनाका आधारमा पारदर्शी ढंगले आगामी बजेट निर्माण गर्न प्रदेश सरकारलाई सहज हुने बताए। ‘दिग्दर्शनले बजेटलाई निर्माण गर्न र योजना तर्जुमा गर्न सहज बनाउँछ,’ मुख्यमन्त्री राईले भने, ‘हिमाल पहाड र तराईलाई सन्तुलित बनाई बजेट निर्माणमा अब समस्या रहँदैन।’

मुख्यमन्त्री राईले अबको बजेट परम्परागत ढंगको नभई निश्चित लक्ष्य साथ मापदण्ड भित्र रहेर ल्याउने बताए। आगामी बजेटको प्रारुप कस्तो हुने भन्ने अहिलेनै भन्न सकिने अवस्था नभए पनि प्रदेश सरकारले बनाएको आधारपत्र आवधिक योजना र अहिलेको दिग्दर्शनको जगमा टेकेर बजेट बन्ने उनको भनाइ छ।

अबको रातो किताबमा हजार, लाखका योजना नदेखिने चर्चा गर्दै मुख्यमन्त्री राईले दिग्दर्शन आएसँगै रातो किताब पुरानो र भद्दा जस्तो नहुने दाबी गरे। आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्री, सचिव र योजना आयोगका पदाधिकारी मात्रै उपस्थित गराई सानो कार्यक्रमको आयोजना मार्फत दिग्दशर्न सार्वजनिक गरेको हो।

मुख्यमन्त्री राईले अन्य प्रदेश भन्दा अघिनै दिग्दर्शन सार्वजनिक गर्न प्रदेश सरकार सफल भएको बताउँदै अब आगामी आर्थिक वर्षको बजेट पनि समयमानै ल्याउने बताए। ‘कोरोनाको असरले केही समस्या त छ, तर हामी समयमा बजेट ल्याउने तयारीमा जुटेका छौँ,’ मुख्यमन्त्री राईले भने।

दिग्दर्शन सार्वजनिक कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालमै पहिलोपटक आवश्यकतालाई महसुस गरेर आधारपत्र र आवधिक योजनाको जगमा महत्वपूर्ण दस्तावेजको रुपमा दिग्दर्शन आएको बताए।

यो दिग्दर्शन निर्माणपछि गोजी र पहुँचको भरमा योजना पार्ने पुरानो परम्पराको अन्त्य हुने उनको विश्वास छ। ‘अबको बजेट सन्तुलित हुन्छ, पहुँचको आधारमा व्यक्तिको जोडमा जान्छ भन्ने हल्ला पनि यो आए सँगै अन्त्य हुन्छ,’ उनले भने ‘यसले गरिब र धनी सबैलाई समेट्ने बजेट बनाउने आधार तय गर्छ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले अलमल नगरी योजना छनोट गर्न र बजेट निर्माण गर्न दिग्दर्शनले स्पष्ट दिशा दिएको बताए। उनले अबको बजेट छरिएको नभई एकीकृत बनाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले कठोर निर्णय लिनुपर्ने बताए। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले दिग्दर्शनबारे बताएका थिए।

Back to top button