उपत्यका छाड्न दिने निर्णय भइसकेको छैन : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय भइनसकेको जानकारी दिएको छ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्- भाेलि र पर्सि सवारीसाधन चल्न पाउनेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय आएकाे छैन। आएमा जानकारी गराइनेछ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका संयोजकसहित केही मन्त्रीहरुको बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने अनौपचारिक निर्णय गरेको थियो।

रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले बैठकको निर्णय सार्वजनिक गरे पनि लगत्तै गृह मन्त्रालयले त्यस्तो निर्णय नभएको बताएको हो। स्रोतका अनुसार गृह मन्त्रालयमा अहिले गृह मन्त्रीस्तरको बैठक बसिरहेको छ।

लकडाउनका कारण १७ ओँ दिनदेखि ठप्प देशमा अचानक उपत्यका छाड्न दिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो।

उच्चस्तरीय समिति स्रोतले पनि मन्त्रीहरुबीच उपत्यका छाड्न दिने सहमति भए पनि केही मन्त्रीहरुले नै यसमा विमति जनाएपछि यो अनिश्चित बनेको हो।

उच्चस्तरीय समितिले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौँबाहिर जान दिने निर्णय नभएको जानकारी दिएको छ।

Back to top button