जोनसन जल उद्योगको पानी भित्र लामखुट्टे भेटियो, महानगरद्धारा अनुगमन

विराटनगर । विराटनगरमा सिल प्याक पानीको जारभित्र लामखुट्टे फेला परेको छ । विराटनगर ५ स्थित जोनसन जल उद्योगले उत्पादन गरेको धवन्तरी नीर पिउने पानीमा लामखुट्टे भेटिएको हो । पानीमा लामखुट्टे भेटिएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ ।

उपमेयर इन्दिरा कार्कीले पानीमा लामखुट्टे भेटिएपछि उक्त जारसहित अनुगमन टोली लिएर उद्योग पुगेकी थिईन् । अनुगमनको क्रममा तोकिएको मापदण्ड अनुसार उद्योग संचालन नहेको पाईएको उपमेयर कार्कीले बताईन् ।

उपमेयर कार्कीको अनुसार उद्योगको शौचालयदेखि आधा फिटको दूरीमा पानी टंकी र फिल्टर सिलिन्डर जडान गरिएको र उक्त उद्योगले भने जस्तो रिभर्स ओसमोसिस, अल्ट्रा भोइलेटड प्रकृया पूरा नगरेको भेटियो ।

मोटरबाट तानिएको पानी कुदने पाईपमा धुलो फोहोर जमेको पाइएको र प्रसोधित भनिएको पानी सावधानी नअपनाई नलबाट जारमा भरिने गरेको अनुगमन टोलीले भेटाएका थिए । खाद्य अनुसन्धान शाखाका धिरज राईले कम्पनी नविकरण नगरी संचालन गरेको बताए । उपमेयर कार्कीले संवेदनहिनतालाई कुनै पनि बाहानामा छुट नदिने बताईन । उद्योगबाट एक जार पानी ल्याब टेष्टका लागि नियन्त्रणमा लिइएको उपमेयर कार्कीले बताइन् ।

Back to top button