आगामी बजेट निर्धारित समयमै ल्याउने तयारी

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्धारित समयमै ल्याउने गरी तयारीमा जुटेको छ । संविधानले १५ जेठमा बजेट ल्याउने समय तोकेको छ ।

कोरोना संक्रमण र त्यसपछिको लकडाउनका कारण अर्थ मन्त्रालयले मन्त्रालयगत तथा निकायगत छलफल गर्न पाएको छैन । तर, नीतिगत तहमा सरोकारवाला निकायहरु बजेट निर्माणको काममा जुटिसकेको मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री बताउँछन् । ‘नीतिगत तहमा सबै निकायले तयारी थालेका छन्,’ उनले भने, किनकि हामीलाई जस्तोसुकै परिस्थितिमा पनि १५ जेठको मिति टार्ने सुविधा छैन ।’

विगतमा बजेटमा हुने बखेडा र आलटालले बजेट आउने मिति अनिश्चित हुने गरेको थियो । यसले उत्पन्न गर्ने अस्थिरताका कारण खर्च प्रणाली असन्तुलित हुने गरेको थियो । सोहीकारण अहिले संविधानमै बजेट ल्याउने मिति तोकिएको हो । तर, यस वर्ष भने बजेट निर्माणलाई कोरोना र लकडाउनले प्रभावित बनाएको छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनअनुसार संघीय सरकारको बजेट १५ जेठमा आउनु पर्छ । उता, प्रदेश अर्थमन्त्रीले प्रत्येक वर्ष असार महिनाको १ गतेभित्र आगामी आवको राजस्व व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने प्रावधान छ । गाउँपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनि प्रावधान रहेको छ ।

Back to top button