
ताप्लेजुङ । मंगलबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किसानलाई ढुक्क भएर खेतीपाती गर्न अनुरोध गर्दै थियो । त्यही बेला देशका दुर्गम गाउँघरतिरका किसानको काम मन्त्रालयले गरेको अनुरोधसँग मिल्दोजुल्दो भएको झल्को दिने गरिको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको गाउँ–गाउँमा त्रास फैलिएको विषयमा मन्त्रालयले ध्यानाकर्षणसहित गरेको अनुरोधले खेतीपाती गर्ने किसानलाई मानसिक रुपमा बल मिलेको छ ।
स्थानीय सञ्चारमाध्यम तथा गाउँघरतिरका जान्ने बुझ्नेले घरबाहिर ननिस्कन तथा समूहमा भेला नहुन जारी गरेको सूचनाको डर त गाउँघरतिर थियो नै । तथापी कतिले डर मानेर त कतिले अज्ञानताका कारण खेतबारीको काम सम्हालेकै थियो । चैतमा चर्किदै गएको घाममा बारीको काममा व्यस्त फुङलिङ नगरपालिका–९ स्थित हाङदेवाका पेम्बा शेर्पाले भनिन्, “कोरोना कि करोना रोग भन्छ । घरभित्र बस्नु त भन्छ । तर बारीमा फुलेको मेलो कसले गरिदिन्छ ?” चैतको महिनामा पर्याप्त वर्षा भएकाले उच्च पहाडी क्षेत्रको मुख्य बाली आलु हलक्क बढेको छ ।
श्रीपञ्चमीमा साइत पारेर रोपिएका मकै आलुको बोटजतिकै देखिनेगरि हुर्केको छ । गाउँघरमा अर्मपर्म चलन हुन्छ । पेमाको बारीमा पनि मंगलबार दिउँसो ५-६ जना आलु र मकै गोड्न व्यस्त देखिन्थे । कम्तीमा ३ मिटरको दुरीमा बसेर काम गर्नुपर्छ नि भनेर गरिएको कुराकानीमा शेर्पाले हाँस्दै भनिन्, “बारीमा पस्ने बित्तिकै हामी पनि दुरी कायम गर्ने भन्छौ । तर गफसँगै काम गर्दै जाँदा एकै ठाउँमा भेला भाको पत्तै हुँदैन् ।” फुङलिङ नगरपालिका–५ उकालीपानीका मान बहादुर गुरुङ गाइबस्तु चराउँदै गरेको भेटिए ।
उनले भने,“मान्छेले पो घरभित्र खाँदै बस्न सक्छ । त्यो पनि हुने खानेकोमा । हुँदा खानेकोमा र गाईबस्तु पालेकाहरु घरबाहिर ननिस्केर के गर्नु ?” लकडाउनबारे सोधिएको जिज्ञासामा गुरुङले थपे, “गाउँघरतिर आउने जाने खासै हुँदैन् । हामी त बिहान उठेदेखि बेलुकी अवेरसम्म गाइबस्तु धन्दा र बारीको काममा हुन्छौ । त्यही भएर फरक नपर्ला कि !” गाउँघरतिर न मास्क न साबुन पानी । तैपनी समयक्रमअनुसार सरसफाईको चलन धेरै नै बढ्दै गएको छ ।
गुरुङ र शेर्पा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँघरतिर प्राय मानिस सबै घरायसी तथा बारीको काममा व्यस्त हुन्छन् । अझ चैतको बेला वर्खायामका लागि दाउरा पानी जोहो गर्ने चलन हुन्छ । लेकाली क्षेत्रमा मुख्य बाली आलु र मकै गोडमेल गर्ने,दाउरा थन्क्याउने र गाईबस्तु कटेरा बनाउने काम हुन्छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार लकडाउनको नियम गाउँ वा शहर सबैतिर लागू हुन्छ । लकडाउनका नियम अरुका लागि नभई आफ्नै लागि हो भन्ने आभास गराउनुपर्नेमा प्रजिअ निरौलाले जोड दिए । प्रजिअ निरौलाले भने, “बुझेकाले नबुझेकालाई बुझाउनु सचेत नागरिकको दायित्व हो । विषम परिस्थितिको संवेदनशिलता बुझाउन सबैको भुमिका प्रभावकारी हुनुपर्छ ।” सरकारको निर्णयप्रति नागरिकमा अपनत्वको भावना जागृत गराउन सबैले पहल गर्नुपर्नेमा प्रजिअ निरौलाले जोड दिए । karobardaily