ताप्लेजुङको सिरिजंघामा कडा नियम, गाउँपालिका प्रवेशमा पुर्ण रोक

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा अब लडकडाउन अवधिभर कुनै व्यक्तिले प्रवेश नपाउने भएका छन् । शनिबार बसेको कार्यपालिका बैठकले लकडाउनको अवधिभर गाउँपालिका क्षेत्रमा प्रवेश निषेधको निर्णय गरेको हो ।

पालिका भित्र कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि अन्य जिल्ला तथा स्थानीय तहबाट कुनै पनि व्यक्तिलाई प्रवेश नदिने निर्णय भएको गाउँपालिका अध्यक्ष टिका गुरुङले जानकारी दिए। दिनानुदिन कोरोना भाइरसको संक्रमणले ठुलो रुप लिदै गईरहेको अवस्थामा यसका विरुद्ध गाउँपालिकालाई पुरै लकडाउनमा राख्ने निर्णय गर्नु परेको गुरुङको भनाई छ ।

यस्तै पालिका स्तरबाट गाउँपालिका भित्र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड २०७६ लाई पनि बैठकले संसोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ । स्थानीय आवस्यकता र अनुकुलतालाई हेरी संसोधन सहित उक्त मापदण्ड स्वीकृत भएको हो ।
बैठकको निर्णय अनुसार पालिकाले निर्माण गरेको क्वारेन्टाईन र आईसोलेशनमा लकडाउन अवधिभर खट्ने स्वास्थ्यका कर्मचारीको मनोवल उच्च राख्न र उक्त अवधिभर प्रोत्साहन स्वरुप खाना, खाजा बापत दैनिक ५ सय रुपैँया र पालिका माताहतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई २ सय रुपैँया साथै स्वास्थ्य संस्थाका प्रमुखलाई सञ्चार खर्च बापत मासिक १ हजार रुपैँया विपद व्यवस्थापन कोषबाट उपलब्ध गराईने भएको छ ।

कोरोना नियन्त्रणका लागि विपद व्यवस्थापन कोषलाई थप मजबुद बनाउन पालिकाका सम्पुर्ण जनप्रतिनीधिको मासिक सुविधाबाट ४ लाख ८८ हजार ५ सय रुपैँया कट्टा गरि कोषमा जम्मा गर्ने समेत निर्णय भएको छ । यस्तै अधिकृत स्तरका कर्मचारीको मासिक तलब स्केलको ५ दिनको र सहायक स्तर र श्रेणीविहिन कर्मचारी (स्वास्थ्यका बाहेक) का मासिक तलब स्केलको ३ दिनको रकम कोषमा जम्मा गरिने भएको छ ।

यता राहत सम्वन्धि मापदण्ड अनुसार राहत वितरण गर्न र मापदण्ड अनुसार राहत पाउन योग्य व्यक्तिहरुको तथ्यांक संकलन गरि ५ दिन भित्रै पालिकामा बुझाउन वडा समितिहरुलाई परिचालन गरिने भएको छ । यस्तै सिरिजंघा गाउँपालिकाको गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली २०७६ अनुसार गाउँकार्यपालिकामा निहित सम्पुर्ण अधिकार प्रयोग गर्न गाउँपालिका अध्यक्ष गुरुङको संयोजकत्वमा ४ सदस्यि समिति समेत बनेको छ ।

संक्रमणका समयमा बैठक, भेला, सम्मेलन नगर्न सरकारले गरेको अनुरोध र पालिकाको भौगोलिक विकटतालाई हेरि आवस्यकता अनुसार यस्तो समिति बनाईएको बताईएको छ । समितिको सदस्यमा वडा नम्बर २ का अधयक्ष लालकृष्ण चौहान, वडा नम्बर ४ का रुपदास भट्टराई र गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष घिमिरे रहेकाछन् । सो गाउँपालिकामा अहिले तराईका लगाएतका जिल्लाबाट आएका ८ जनालाई क्वारेन्टाईनमा राखेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ । १४ दिन सम्म कुनै लक्षण नदेखिए स्वास्थ्यकर्मीको सिफरिसमा उनिहरुलाई घर पठाईने छ ।

Back to top button