देवरबाट भाउजूमा कसरी सर्यो कोरोना ?

विराटनगर । रोजगारीका लागि दुवई गएका ३४ वर्षीय युवा चैत ७ गते काठमाडौँ आए । ८ गते शनिवार दिउँसो १२ बजे बुद्ध एयरको प्लाइटबाट नेपालगञ्ज पुगे । त्यहाँबाट हाइसमा चढेर अत्तरिया गए ।

तीन दिन घरमै बसे । ती युवालाई चैत १० गते राति ज्वरो आयो । ११ गते बिहान अस्पताल लगियो । चैत १४ गते उनी कोरोना सङ्क्रमित भएको पुष्टि भयो । त्यसपछि परिवारका ९ जना सदस्यलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखियो ।

सङ्क्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौं पठाइयो ।

काठमाडौँमा प्रयोगशाला जाँचका क्रममा भाउजूमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले चैत २२ गते शनिवार गरेको हो । तर, ती महिलामा कोरोनाको लक्षण भने अहिलेसम्म देखिएको छैन ।

लक्षणविना ती महिला सङ्क्रमित भइसकेको प्रयोगशालाको रिपोर्टले देखाएको छ । फर्किएदेखि घरमै बसेका युवामार्फत भाउजुमा सङ्क्रमण सरेको देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर सङ्क्रमण पहिचान भएकी महिलालाई अस्पताल लगेको छ । उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । सङ्क्रमित युवाको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button