‘प्रदेश १ कोरोनासँग लड्न तयार’

कोरोना विषेश अस्पताल सञ्चालन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सबै स्रोतसाधनको उचित तयारी गरेको बताएका छन् । विराटनगरमा शुक्रबारबाट सञ्चालनमा आएको कोरोना विषेश अस्पतालको निरीक्षण गर्दै उनले प्रदेश सरकार कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताएका हुन् ।

कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि बढेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारलेविज्ञ चिकित्सकहरुको टोली गठन गरेर स्वास्थ्य विषेश छलफल र निर्णय गर्दै अघि बढेको समेत जानकारी दिए ।

विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपुर्तीका लागि अध्ययन गरिरहेको मुख्यमन्त्री राईको भनाई छ । यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनको भनाई छ ।

अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश १ उच्च जोखिममा रहेको बताउँदै उनले यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल समेत गरे । प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको हो ।

१० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुखु डा संगिता मिश्रले बताइन् । प्रदेश सरकार मन्त्री परिषदको चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो ।

Back to top button