
ताप्लेजुङ । पछिल्लो ९ दिनदेखि क्वारेन्टाईनमा राखिएका ताप्लेजुङका तीन जनालाई बिहीबार घर पठाईएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकि कोरोना संक्रमण पुष्टि भएकि महिला संगै जहाजमा आएका १ जना परिवार सहित चैत १२ गतेदेखि क्वारेन्टाईनमा थिए ।
सदरमुकाम स्थित क्वारेन्टाईनमा रहेका उनिहरुमा कोरोनाका कुनै लक्षणहरु नदेखिए पछि विहिबार घरैमा सुरक्षित बस्न अनुरोध सहित पठाईएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार पछिल्लो १८ दिनको समय अवधिमा उनिहरुमा ज्वरो आउने, रुघा खोकि जस्ता कुनै लक्षण नदेखिए पछि घरैमा बस्ने गरि पठाईएको हो ।
यता फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा २ जना र सिदिङ्वा गाउँपालिकामा १ जना क्वारेन्टाईनमा रहेकाछन् । उनिहरुको पनि स्वास्थ्य अवस्था सामान्य देखिएको छ । शुक्रबार सिरिजंघा गाउँपालिकाका ५ जनालाई क्वारेन्टाईनमा राख्ने तयारी भएको बताईएको छ । जिल्लाभर १२८ वटा क्वारेन्टाईन निर्माण भएकाछन् । कोरोना संक्रमणबाट ताप्लेजुङमा त्रसित भईहाल्ने अवस्था नरहे पनि सावधानीका साथ बस्नु पर्नेमा प्रजिअ निरौलाको जोड छ ।
यसैबीच ताप्लेजुङमा रहेका १६ जना विदेशी नागरिक (पर्यटक) मध्ये ३ जनालाई आज काठमाडौ पठाईएको छ । काठमाडौ फर्कनेमा दुई जना जर्मनका र एक जना स्वीजरल्याण्डका नागरिक रहेकाछन् । बाँकि कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेकाछन् भने सदरमुकाम आईसके पछि काठमाण्डौ पठाईने बताईएको छ ।