लकडाउनमा अटेरी नागरिक, सप्तरीका सेना परिचालन

काठमाडौं, प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ। लक डाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए।

‘राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको हो,’ ठाकुरले भने, ‘राजविराजस्थित भीमदल गण सैनिक परिचालन गरिएको छ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नु परेको ठाकुरले जानकारी दिए।

‘सशस्त्र प्रहरी हिजोदेखि सीमा लकडाउनमा गएको छ,’ उनले भने, ‘गृहसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी माग गरेका छौं।’ उनका अनुसार एक सय जना नेपाल प्रहरी र तीन सय ३२ जना सशस्त्र प्रहरी पठाइदिन गृहसँग माग गरिएको हो। ‘गृहले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्छ,’ ठाकुरले भने, ‘सेनाले लगातारभन्दा पनि बेला बेला गस्ती गरेको छ।’

लकडाउनका बेला स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सुरक्षाकर्मीहरू सडकमा परिचालन गर्नु परेको हो। सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साता लक डाउन गरिएको छ। कोरोनाभाइरस संक्रमित बिरामी एक जना देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ।

Back to top button