सामान्य परीक्षण ठूला अस्पतालमा नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया रोक्न ठूला अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सघन उपचार कक्ष (आईसीयू)को व्यवस्था गर्न सामान्य खालको स्वास्थ्य परीक्षण तथा शल्यक्रिया चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको बताए। उनका अनुसार यो निर्देशन काठमाडौं उपत्यकाका ५० शय्या र सोभन्दा माथिका अस्पताललाई हो।

‘होलबडी स्वास्थ्य जाँच, पत्थरीजस्ता सामान्य स्वास्थ्य परीक्षणका लागि नआएर सहयोग गर्न आग्रह गरेका छौं’, प्रवक्ता डा. देवकोटाले भने। सयभन्दा बढी शय्याका सबै अस्पताललाई ज्वरो क्लिनिक सञ्चालन गर्न यसअघि मन्त्रालयले निर्देशन दिएको थियो। कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि सरकारले ३ सय ३५ वटा आईसीयू कक्ष बनाएको छ।

मन्त्रालयले कोरोना भाइरसको नमुना परीक्षण तत्काल सुरु गर्न वीर, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई निर्देशन दिएको छ। यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र नमुना परीक्षण गर्दै आएको थियो। समुदायमा फैलावटको अवस्था पत्ता लगाउन प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार परीक्षणको व्यवस्था मिलाइएको छ।

Back to top button