कोरोना रोकथामको लागि सरकारको निर्णय आजदेखि कार्यान्वयन

काठमाण्डाै – सरकारले कोरोना भाइरस (काेभिड–१९) को जोखिम कम गर्न बिहीबारदेखि आवश्यक नपरेसम्म घरबाट बाहिर नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक नभइ घरबाहिर नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेकाे हाे ।

त्यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, सङ्ग्रहालय, स्विमिङ पुल, मनोरञ्जनस्थल, लगायत ठाउँ आउँदाे वैशाख १७ गतेसम्म बन्द गर्ने तथा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा अनावश्यक भिड हुन नदिने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसार पसार नगर्न/नगराउन यातायात व्यवसायी र सर्वसाधारणलाई अनुरोध गर्दै मानिसको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलमा पालिकाहरुले दैनिकरुपमा निश्चित समयको अन्तरालमा सरसफाइ गर्नुपर्ने निर्णय पनि गरेको छ ।

कोरोनाको जोखिम कम गर्न युरोपका सबै देश पश्चिम एसिया लगायत खाडी क्षेत्रका देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती देशलाई ट्रान्जिट बनाइ अरु देशबाट आउने यात्रुलाई शुक्रबारदेखि आउँदो वैशाख ३ सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

एसईई र त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित भएको छ ।

Back to top button