
काठमाडौं । भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित भएको छ । अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
उनका अनुसार एसईई परीक्षा स्थगित भएको छ भने विश्वविद्यालयको जारी रहेको परीक्षा पनि स्थगित गर्ने तयारी भएको छ । तर निर्णय भइसकेको छैन । “एसईईको परीक्षा रोकिएको छ,”बाह्रखरीसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, “विश्वविद्यालयको परीक्षा पनि रोक्ने भन्ने कुरा भएको छ तर निर्णय भइसकेको छैन । भोलि या पर्सी बैठक यसबारेमा निर्णय गर्नेछौं ।”
अर्को सूचना सार्वजनिक नभएसम्मका लागि परीक्षा स्थगित भएको पोखरेलले जानकारी दिए । बिहीबार बिहानदेखि हुने परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भने चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइसकेको थियो ।
यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका थिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुने तयारी थियो । परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको जानकारी दिए ।