रामदेव र आचार्य बालकृष्णको नेपाल भ्रमण स्थगित

काठमाडौं । योगगुरु रामदेव र आचार्य बालकृष्णको नेपाल भ्रमण स्थगित भएको छ । चैत २२ देखि उनीहरुको साताव्यापी नेपाल भ्रमणको कार्यक्रम तय भएको थियो। भारतसहित विश्वका करिक १ सय ५७ मुलकमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण उनीहरुको भ्रमण स्थगित भएको हो।

उनीहरू पोखरामा योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रममा सरिक हुने कार्यक्रम थियो । पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले भने– ‘यो वर्षको भ्रमण स्थगित भएको छ, अब कहिले हुन्छ निर्णय भएको छैन ।’

सरकारले घोषणा गरेको नेपाल वर्ष–२०२० सफल पार्न करिब १ हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति, कर्मचारीसहित उनी नेपाल आउन लागेका थिए । नेपालमा पनि कोरोना संक्रमण हुने आशंका बढेपछि सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरिसकेको छ ।

उता, कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने सेनिटाइजर ल्याउन नपाएकोमा योगपीठले आपत्ति जनाएको छ। योगपीठले नेपाललाई करिब ५० हजार थान सेनिटाइजर निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढाए तापनि सरकारले रोकेको ट्रस्टको आरोप छ।

‘हामी नेपालीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने तुलसीको पात, विभिन्न आयुर्वेद औषधि र सेनिटाइजर ल्याउने प्रक्रियामा थियौं।’ सरकारले मापदण्ड बनाएर रोक लगाएका कारण समस्या परेको छ–नेपालका ट्रष्टी सिंहले भने । नेपाल समाचारपत्रबाट

Back to top button