कोरोना भाइरसः १ सय २९ देशमा संक्रमित, ५ हजार ३ सय ८८ को मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना अहिले विश्वकै ठूलो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।

विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरेपनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिन सकेको छैन । चीनमा भाइरस संक्रमितको संख्या घटेको छ । तर कोरोना भाइरसले अहिले यूरोपलाई केन्द«बिन्दु बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार विश्वभर १ लाख ४२ हजार ३ सय २० भाइरस संक्रमित र ५ हजार ३ सय ८८ को मृत्यु भएको छ । विश्वका १ सय २९ देशमा भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरानो भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको हो । भारतमा अहिले कोरोना भाइरसको कारण दुईको मृत्यु र संक्रमित हुनेको संख्या ८४ पुगेको टाइम्स अफ इन्डियामा उल्लेख गरेको छ ।

चीनले भाइरस संक्रमण रोक्न कोशिस गर्दै इटालीलाई मास्क तथा मेडिकल सामग्री पठाएको छ । चीनले स्वास्थ्य सामग्रीसँगै ९ स्वास्थ्य टोली सदस्यसमेत पठाएको हो । इटालीमा १७ हजार ६ सय ६० संक्रमित र १ हजार २ सय ६८ को मृत्यु भएको पुष्टि भएको छ । चीनपछि भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अधिक हुनेमा इटाली दोस्रो देश हो ।

इरानमा अहिलेसम्म ५ सय १४ को मृत्यु भएको छ भने ११ हजार ३ सय ६४ संक्रमित भएका छन् । यस्तै दक्षिण कोरियामा ८ हजार ८६, स्पेनमा ४ हजार २ सय ३१, फ्रान्समा ३ हजार ६ सय ४०, जर्मनीमा ३ हजार ६२, अमेरिकामा १ हजार ६ सय ७८, स्वीजरल्याण्डमा १ हजार १ सय २५, नेदरल्याण्डमा ८ सय ४, बेलायतमा ८ सय २, डेनर्माकमा ८ सय १, स्वीडेनमा ७ सय ७५, नर्वेमा ७ सय ५०, जापानमा ७ सय १६, कतारमा २ सय ६२, अष्ट्रेलिया र मलेसियामा १ सय ९७, कुवेतमा १ सय, यूएईमा ८५, कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा संक्रमित हुनेको संख्या ८१ हजार २१ पुगेको छ भने ३ हजार १ सय ९४ को मृत्यु भएको हो । चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा पनि गरेको छ । चीनमा वुहानबाहिर थप नयाँ संक्रमित नदेखिएको कारण चीनले भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको हो ।

कारोना भाइरसको कारण विश्वभरी मृत्यु हुनेको संख्या ५ हजार ४ सय २९ पुगेको छ । यस्तै १ लाख ४५ हजार ३ सय ७७ मानिस भाइरस संक्रमित भएका छन् । ती मध्ये ७१ हजार ७ सय १५ निको भएको जोन्स हप्किन्स विश्व विद्यालयको जीस एण्ड डाटामा उल्लेख गरिएको छ ।

Back to top button