भेडेटारमा जिपलाइन सुरु, ४० सेकेण्डमा एक डाँडा देखी अर्को डाँडामा (भिडियो सहित)

भेडेटार । भेडेटारमा व्यवसायिक रुपमा जिपलाइनको सुरुवात भएको छ । धरान ४ स्थित भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो । जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

७ महिना अघिदेखि वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान–४ ले निर्माण सुरु गरी जिप लाइनको सुरुवात गरेको हो । प्रालिका सञ्चालकमा केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारी रहेका छन् । उनिहरुको समुहले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गरेको हो । यो समुहले यसअघि धुलिखेलमा व्यवसायिक रुपमा जिप फ्लाइङ सञ्चालन गरिसकेको छ । करिब ३ करोडको लगानीमा भौतिक निर्माण सम्पन्न गरेको प्रालिका सञ्चालक केदार थापाले बताए।

यसमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०–४० सेकेण्ड लाग्ने छ । जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी ३ प्रकारको सुविधा हुनेछ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन् । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ । प्रालिका सञ्चालक थापाले सुरुवाती चरणमा २० प्रतिशतसम्म छुट दिइएको बताउदै जिप फ्लाइङमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिनसक्नेछन् ।

जिप फ्लाइङमा प्रयोग गरिएका सामग्रीहरु अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल भएको कम्पनीको हुने भएकोले सुरक्षामा कुनै समस्या नहुने थापाको भनाई छ । थापाका अनुसार तारको क्षमता ११ हजार किलो भारको छ, भने सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको हुनेछ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि हुनेछ ।

Back to top button