मोरङमा टिपरले लियो हजुरबुबा र नातिनीको ज्यान, विराटचौक तनावग्रस्त

विराटनगर । हजुरबुबा र नातिनीको सडक दुर्घटनामा मृत्यु भएपछि मोरङको विराटनगर–विराटचौक सडकखण्ड तनावग्रस्त बनेको छ। मंगलबार राति टिपर र अटो रिक्सा ठोक्किँदा ग्रामथान गाँउपालिका –२ का ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ७ वर्षीय आरोही सरदारको घटनास्थलमै मृत्यु भएको थियो।

घटना लगत्तै सो क्षेत्रमा रातभर अवस्था तनावपूर्ण रहेको थियो। त्यसयता हाल दुर्घटनास्थलमा विरोधसँगै सडकखण्ड अवरुद्ध रहेको छ। रुख काटेर सडकमा ढालिएको छ भने टायर बालेर प्रदर्शन भइरहेपछि सडकमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विराटचौकबाट विराटनगरतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपर र मिलचौकबाट झोराहाटतर्फ जाँदै गरेको प्र १–०२–००२ ह ८६०६ नम्बरको अटो तुलसी मटर फ्याक्ट्री अगाडि राति ९ बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन्। प्रहरी, जनप्रतिनिधि, स्थानीय र आफन्तबीच भएको वार्तापछि ठक्कर दिने टिपर चालकलाई कारबाही गर्ने र मृतककका परिवारलाई क्षतिपूर्ति दिने सहमति बनेपछि पीडित पक्षले शव उठाएका थिए। हाल शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।

अर्कोतर्फ, आन्दोलित स्थानीयले भने अहिले पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा थप अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। टिपरका चालक सुनसरीको रामधुनी गाउँपालिका–५ झुम्काका ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जननाएको छ ।

Back to top button