पूर्वेली लोकशैलीको ‘इलाम बजार’ सार्वजनिक (भिडियो)

युएई । सुन्दर जिल्ला इलामको वर्णनसहितको नयाँ लोकभाका सार्वजनिक भएको छ । ‘इलाम बजार’ बोलको गीत आइतबार सार्वजनिक गरिएको हो ।

रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना तथा राज लिम्बूको आवाजमा सजिएको गीतमा सुनील राईले संगीत भरेका छन् । गीतकार रोवर्ड र गायक राज दुबै इलामेली हुन् । रोवर्ड चुलाचुली तथा राज फिक्कलका बासिन्दा हुन् । यद्यपि, हाल दुबै जना वैदेशिक रोजगारीमा छन् ।
युएईमा रहेका गीतकार रोवर्डको यो छैठौँ गीत हो । कतारमा श्रम गरिरहेका गायक राजको भने यो गीत नै पहिलो हो । झापा बाहुनडाँगीका संगीतकार सुनील पूर्वका परिचित संगीतकार हुन् ।

गीतमा इलामको मौसम, रहनसहन तथा स्थानका नामहरु समेटिएको छ । पूर्वेली लोकशैलीको यस गीतमा इलामको सुन्दर वातावरणमा जिन्दगीलाई हाँसेर बिताउन पनि सन्देश दिइएको छ । सबै उमेर समूहकाले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको गायक राजले बताए ।
‘‘सररर हावा चल्यो, राँके इलाम बजार
दुई दिने जीवनलाई बिताउँ हाँसेर’’
आरएस इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत संगीतकार सुनीलसँगको सल्लाहमा रोवर्डले एक महिनाअघि लेखेका हुन् । गीतमा राँके, फिक्कल, इलाम बजारको मात्र कुरा समेटिएको छैन, सोल्टिनीलाई माइबेनी मेलामा भेट्ने र मन मिले घरै लैजानेसम्मको भावना समेटिएको छ ।

Back to top button