खुमलटारमा प्रचण्ड, माधव र झलनाथको बैठक यस्तो भयो निर्णय

काठमाडौं ।  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयसम्बन्धी विवादले नेकपाभित्र गम्भीर रुप लिएको छ। विवाद टु्ंग्याउन विभिन्‍न तहमा पटकपटक वार्ता भए पनि अझै समझदारी बन्‍न सकेको छैन।

यही विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  शुक्रबार बिहान पार्टीका नेताहरुसँग आफ्‌नो निवास खुमलटारमा अलग्गै परामर्श गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सचिवालय सदस्यहरु शुक्रबार बिहान खुमलटार पुगेका थिए। सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड रहेको थियो। पार्टीको माथिल्लो निकायले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन नहुँदा यसले दुर्घटना निम्त्याउने निश्कर्ष छलफलका निकालिएको स्रोतले बतायो।

खुमलटारको बैठक सकेर चितवन पुगेका प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएकोले यसको कार्यान्वयनको विकल्प नरहेको बताएका छन्।

नेकपा सचिवालयले सर्वसम्मत निर्णय गरेको तीन दिन वित्दा पनि प्रधानमन्‍त्री केपी ओली यसलाई कार्यान्वयन गर्न सकारात्मक भएका छैनन्। उनले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्‍न वाध्य नहुने र अर्थमन्‍त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएका छन्।  उता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतले सर्वसम्मत निर्णय कार्यान्वयन नभए यसले दुर्घटना निम्त्याउने चेतावनी  दिइसकेका छन्।

खुमलटारमा डाकिएको बैठकमा वामदेव गौतम भने स्वास्थ्यका कारण उपस्थित भएनन्।गौतमकै निवास भैंसेपाटीमा शुक्रबार पार्टी महासचिव विष्णु पौडेल र वामदेवबीच कुराकानी भएको छ।

बालुवाटारमा गत फागुन १४ गते बसेको सचिवालय बैठकले प्रधानमन्‍त्री ओलीसमेतको उपस्थितिमा अर्थमन्‍त्री युवराज खतिवडाको नाममा वामदेवलाई राष्ट्रियसभा पठाउने सर्वसम्मत निर्णय गरेको थियो। annapurna

Back to top button