पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेका छन्। बिहानै पुगेका भक्तजन पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन फर्किए।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको थियो। पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ।

भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

Back to top button