ताप्लेजुङका यमनाथले यूएईमा पाए एक किलो सुन उपहार, सुन नेपाल नल्याउने

विराटनगर । यूएईबाट नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा ४ का यमनाथ भट्टराईले दुबईमा १ किलो सुन उपहार पाएका छन् ।

यूएईको अलअहलिया एक्सचेञ्जमार्फत परिवारलाई पैसा पठाउँदा भट्टराईले १ किलो सुन उपहार पाएका हुन् ।१९ वर्षदेखि यूएईको एमबीएम कम्पनीमा उनी सरसफाइको काम गर्दै आएका थिए ।

सोमबार दुबईको अलकुजमा खोलिएको मेघा लक्की ड्र अन्तर्गत यमनाथले एक किलो सुन उपहार पाएको बताईएको छ । अलअहलिया एक्सचेञ्जले संसारभर रेमिट्यान्स पठाउने ग्राहकका लागि सन २०१९ को डिसेम्बर १५ आइतबारदेखि फेब्रुअरी १२ तारिखसम्म यूएईका कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिएको हो ।
भट्टराईले गएको महिना परिवारका नाममा घर खर्चका लागि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट पैसा पठाउनु भएको एक्स्चेञ्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताए ।

उपहार पाएको सुन नेपाल लैजान समस्या
उपहार पाएको एक किलो सुन नेपाल लैजान भने समस्या हुन्छ । त्यसो त एक्सचेञ्जले सुनको सट्टा नगद पनि दिन्छ । लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । त्यसरी पाउने रकम १ लाख ८६ हजार ५ सय ९९ दिर्हाम अर्थात झन्डै ५७ लाख रुपैयाँ यमनाथले पाउनेछन् ।

एक किलो सुन उपहार पाएको खबर पाएलगत्तै हामिसँग कुरा गर्दै यमनाथले भने मेरा धेरै साथीहरु यहाँ आएर अरु देश गए, मैले भने १९ वर्षदेखि एउटै बिस्तारामा सुतेर काम गरेको थिएँ, आजको खुशी ब्यक्त गर्न सक्दिन ।

Back to top button