ताप्लेजुङका सांसद हाङ्गामले भने ‘सुकेटार–विराटनगर हवाईसेवा चाँडो जोडियोस’ (भिडियो)

विराटनगर । कांग्रेस सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ–विराटनगर हवाई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । विहीबारको संसद बैठकमा बोल्दै सांसद हाङ्गामले पहिले सञ्चालन हुँदै आएको हवाई सेवा किन बन्द भएको भन्दै प्रश्न समेत गरे ।

सरकारले नेपाल भ्रमण वर्ष मनाईरहँदा प्रदेश १ कै प्रमुख पर्यटकिय जिल्ला ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगरमा हवाई सेवा नहुँदा पर्यटक सँगै पहाडी क्षेत्रका नागरिकले सास्ती भोग्नुपरेको बताए । ‘प्रदेशको राजधानी विराटनगरबाट पर्यटकिय क्षेत्र ताप्लेजुङ जाने हवाई सेवा चाँडो जोडियोस, म सभामुख मार्फत सरकारलाई आग्रह गर्छु,’ हाङ्गामले भने ।

संसद बैठकको शुन्य समयमा बोल्दै उनले संविधानमा पहिलो संसद बैठकले प्रदेशको नाम तोक्न अझै दुई वर्ष बित्दा पनि नसकेको भन्दै आलोचना समेत गरे । भने, ‘नाम बिनाको प्रदेश कसरी रहन सक्छौं । नाम राख्न ज्योतिष पाइएन कि के भएर गाह्रो भयो ? मुख्यमन्त्री ज्यूले नाम पनि ल्याउँछु र विहेको कार्ड पनि आउँछ भन्नुभएको छ तर दुईवटै कार्ड आएको छैन । चाँडै आओस् ।’

एक करोड खाएर विराटनगरमा राजधानी बनाएको भन्दै जनस्तरमा टीकाटिप्पणी हुने गरेको हाङगामले बताए ।

Back to top button