
विराटनगर । नेकपा केन्द्रीय सदस्य राम कार्कीले जनयुद्ध गन्तव्यमा नपुग्दै दुर्घटनामा पर्दा सोचेको परिणाम ननिस्किएको दाबी गरेका छन्। विराटनगरमा बुधबार आयोजित जनयुद्धको २५औं वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै नेता कार्कीले भने, ‘समाजवादसम्मको गन्तव्य तय गरेर जनयुद्ध सुरु भएको थियो तर समाजवाद नबुझ्दै जनयुद्ध क्र्यास भयो।’
कार्कीले म र मेरो भन्ने विचार पुँजीवाद र हामीलाई समाजवादको परिभाषा गर्दै अझै समाजवादसम्मको गन्तव्य रोकिनुनहुने बताए। ‘हामीले जनयुद्धको जगबाट मात्रै भनेर भएन अब लक्षित स्थानसम्म पनि पुग्नुपर्छ,’ कार्कीले भने, ‘हामीले पाइला रोके अरू कसैले चाल्न सक्छ, यो क्रम रोकिन्छ भन्ने कसैले सोच्नै हुँदैन।’
नेपालीमा हराउँदै गएको आचरण, संस्कृति र सभ्यताको विकास गर्दै मबाट हामी सबै भन्ने स्थानसम्म नपुगेसम्म जुनसुकै परिवर्तन आए पनि विकास नहुने कार्कीको दाबी थियो। नेपालमा अहिले हामीले दिएको शिक्षाले हाम्रा छोराछोरी आमाबुबाले खोकेकोलाई ‘डिस्टप’ मान्ने र युरोपियन देशमा गएर अरूकै बुबाआमा खोकेको र खकारेको स्याहारेर बस्ने वातावरण सिर्जना गरेकाले यस्तो शिक्षाले समाजको सुधार र नेपालको विकास नहुने उनको तर्क छ। उनले भने, ‘हामीले युवालाई सदुपयोग गर्न सकेका छैनौँ अब हामीले बाटो बिराए ती विदेशमा रहेका युवा नेपाल फर्किएर तहल्का मच्चाउलान्।’ युवालाई समेट्दै समाजवादको बाटो पहिल्याउने समय आएको उनले बताए।