तीन वर्षदेखिको प्रेम, फोन नउठाएपछि प्रेमिकाको हत्या

विराटनगर । सुनसरी दुहबी नगरपालिका ६ कालीमन्दिर चोक बस्ने ३२ वर्षीया सम्झना खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढा घर भई हाल मोरङको बुढीगंगा गाउँपालिका ३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साह छन्।

मोरङ विराटनगर महानगरपालिका १२ मलहनुवा पश्चिम रिङरोडबाट करीब २५ मिटर पर उखुबारीमा गत शुक्रबार बिहान सम्झना खत्रीको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

हत्या आरोपमा पक्राउ परेका सुरेन्द्र क्वालिटी नुडल्स फ्याक्ट्रीमा कार्यरत छन्। सोही फ्याक्ट्रीमा कार्यरत युवती खत्री र उनीबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ। मंगलबार दिउँसो सोही ठाउँस्थित बाँसबारी चोक अगाडि उनीहरू भेट भएका थिए।

त्यसपछि मोटरसाइकलमा चढेर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ गएको र विराटनगर महानगरपालिका–१२ मलहनुवा रिङरोड छेउमा गफ गर्ने क्रममा उनीहरुबीच विवाद भएको थियो। एकआपसमा विवाद भएपछि रिसको आवेगमा सुरेन्द्रले ती महिलालाई उखुबारीमा पुर्‍याई धारिलो बाँसले हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

हत्यापछि सुरेन्द्रले शव उखुबारीमा फालेका थिए। प्रहरीले उनको साथबाट मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ। सुरेन्द्रलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Back to top button