आज विश्व क्यान्सर दिवस, झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालले निकाल्यो र्याली

नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सरका रोगी थपिँदै

झापा । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम भईरहेका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले जनचेतनामुलक प्लेकार्ड र व्यानर सहित विहान र्याली निकालेको छ । ‘म हुँ र म गर्छु’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व क्यान्सर दिवस चेतनामुकल र्याली सहित झापामा मनाएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विरेन्द्र कुमार यादवले बताए।

दिवसका अवसरमा अस्पतालले निकालेको ¥यालीले चेतना मुलक सन्देश दिने भएकाले क्यान्सर रोग लाग्ने कारण र लक्षण सहित बुझाउने प्लेकार्ड बोकेर र्यालिको आयोजना गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । झापामानै आधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल सुरु भएकाले अब क्यान्सर पीडितले अकालमा ज्यान गुमाउने अवस्था नरहेको अधिकृत गिरी बताउँछन् । ‘पहिले क्यान्सर लागे उपचार नपाएर ज्याननै जान्छ भन्ने थियो, त्यसलाई रोक्न हामिले यहाँ अस्पताल सुरु गरेका छौँ,’ उनले भने ‘अब पहिले जस्तो क्यान्सर लागेर कसैले अकालमा ज्यान गुमाउनु पर्दैन ।

दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र क्यान्सर रोग निवारणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले आज देश भर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । वर्षेनी विश्वभर लाखौं मानिसको क्यान्सरका कारणले मृत्यु हुने गर्छ । यसै कुरालाइ ध्यानमा राखी जनजागरण अनि उपचारका माध्यमबाट मृत्युबाट जोगाउने हेतुले क्यान्सर दिवस मनाइन्छ । यस दिन क्यान्सरविरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनी विश्वस्तरमै छलफल तथा विभिन्न कार्यक्रमहरू गरिन्छ ।

पछिल्लो समय नेपालमा फोक्सो, मुख, घाँटी, पाठेघर र स्तनको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा वार्षिक झण्डै ११ हजार नयाँ क्यान्सरका बिरामी देखापर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर चिकित्सकहरूले भने नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने अनुमान गर्दै आएका छन् । ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सरका रोगी रहेको अनुमान छ ।

Back to top button