प्रदेश १ सरकारले बोलायो हिउँदे अधिबेशन

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते बोलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । सोमबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ २३ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिबेसन बोलाउने सहितको निर्णय गरेको हो ।

यहिँ हिउँदे अधिवेशनबाट नै प्रदेश सरकारले प्रदेशको नामको टुंगो लगाउने तयारी गरिरहेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान अनुरुप हिउँदे अधिवेशनको मिती तय गरेको निर्णयबारे जानकारी दिदै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

सोमबारको बैठकले अधिवेशनमा पेश गर्ने पाँचवटा विधेयकलाई पनि प्रदेशसभामा पेश गर्ने सैद्धान्तिक सहमति दिएको छ भने मुख्यमन्त्रीका तीन सल्लाहकार पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

सैद्धान्तिक सहमति दिएका पाँच विधेयकमा प्रादेशिक औद्योगिक व्यावसाय सम्बन्धी विधेयक, प्रदेश वन विधेयक, प्रदेश बातावरण संरक्षण सम्बन्धमा व्यावस्था गर्न बनेको विधयेक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा गर्न बनेको विधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक रहेको मन्त्री आङ्बोले जानकारी दिए ।

मुख्यमन्त्रीका तीन सल्लाहकारहरुमा जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेत, आर्थिक सल्लाहकार महेन्द्र गुरुङ र आइटी विज्ञ किशोर सुवेदी लाई नियुक्त गर्ने निर्णय भएको छ । यस्तै सार्वजनिक निजी सहकारी साझेदारी लगानी प्राधिकरणको (प्रदेश लगानी बोर्ड) प्रमुख कार्यकारी निर्देशकमा डाक्टर सरोज कोइरालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Back to top button