हरायो अब कालापानी मुद्दा, भारतमा नयाँ विदेश सचिव आएपछि के होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंगलबार जोगबनी–विराटनगर इन्टिग्रेटेड चेक पोस्ट ९आईसीपी०को भिडियो कन्फेरेन्समार्फत भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयुक्त उद्घाटनका क्रममा सम्बोधन गर्दै थाति रहेका विषयहरुलाई दुई देशले संवादका माध्यमबाट समाधान गर्न सक्ने बताए ।

उनको संकेत कालापानीलगायतका सीमा समस्यालाई समाधान गर्ने विषय तर्फ पनि रहेको राजनीतिक र कूटनीतिक क्षेत्रले अर्थ्याए पनि सरकारी तहबाट सोझै यो कुरा भने उल्लेख गरिएको छैन ।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरेको चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ राम्रो पार्न सकिनेसमेत उल्लेख गरेका थिए । उनले ‘पेन्डिङ्ग’ रहेका मुद्दालाई संवादको माध्यमबाट समाधान गर्न सकिने जनाउँदै दुवै देशमा स्थिर र बहुमतयुक्त सरकार रहेको र दुवै देशका लागि यो अवसर भएको समेत उल्लेख गरेका थिए ।

सोही अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध आगामी दशकमा स्वर्णिम हुने अपेक्षा समेत व्यक्त गरेका थिए । दुवै देशको नेतृत्वपंक्तिमा आपसी सम्बन्ध राम्रो बनाउने चाहनालाई दुवै देशका प्रधानमन्त्रीको भनाइले मुखरित गरे पनि सीमा सम्बन्धी विषय अलि छायामा परेको हो कि भन्ने आशंका समेत उब्जिरहेको छ ।

यद्यपि परराष्ट्र सचिव शंकर बैरागीले यस विषयमा भारतीय अधिकारीहरु सम्पर्कमै रहेको र चाँडै वार्ता हुन सक्ने संकेत बाह्रखरीसँगको कुराकानीमा गरेका छन् ।

तर वार्ताको तिथि भने तय भइनसकेको उनको भनाइ थियो । भारतमा संभवतः नयाँ विदेश सचिव आइसकेपछि मात्रै दुई पक्षबीच वार्ताको सम्भावना देखिएको छ । नापी विभागका अधिकारीहरुले पनि यस विषयमा अनौपचारिक ढंगले भित्रि रुपमा कुरा भइरहेको संकेत गरेका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘दुई पक्षबीच कुराकानी भइरहेको छ । हामीले परराष्ट्र मन्त्रालयले लगाएको काम गर्ने हो । उहाँहरुले भने अनुसार गरिरहेका छौं ।’’ नयाँ नक्सा निकाल्ने कुरामा संसदीय समितिले निर्देशन दिए पनि सरकारले नमानेको प्रसंगमा ध्यानाकर्षण गराउँदा उनले भने,‘‘ हामीलाई सरकारको माथिल्लो तहबाट निर्देशन भएको छैन । हामीले निर्देशनअनुसार काम गर्ने हो ।’’

संविधानमा नै गलत नक्सा राखिएको प्रसंगमा उनले भने, ‘‘यो हामीले गर्ने कुरा होइन । सम्बन्धित निकायबाट नै काम भइरहेको होला ।’’ पछिल्लो समयमा दुई देशबीच परराष्ट्र सचिव स्तरमा वार्ता गर्ने कुरा भए पनि अहिलेका भारतीय विदेश सचिव विजय केशव गोखलेले भोलिदेखि अर्थात् २८ जनवरीदेखि अवकाश पाउँदैछन् ।

जनवरी २९ बाट ३३ औं विदेश सचिवका रुपमा हर्षवर्द्धन शृंगलाले कार्यभार सम्हाल्दैछन् । यसअघि अमेरिकाका लागि भारतका राजदूत रहेका शृंगला नेपालीका भाञ्जा पर्ने भएका कारण पनि नेपाल र भारतबीच देखिएको सीमा समस्या समाधानका लागि सहज हुने अनुमान गरिएको छ । यद्यपि नाताले परिस्थितिलाई सहज बनाउन भने केही न केही मद्धत गर्ने सम्भावना रहेको छ ।

यस्तै, भारतले नेपाल पठाउन लागेका नयाँ राजदूत विनय मोहन क्वात्राले पनि कार्यभार सम्हाल्न बाँकी नै छ । त्यसैले भारतमा नयाँ विदेश सचिव आइसकेपछि मात्रै सीमा मामिलामा दुई पक्षीय वार्ताको सम्भावना देखिएको स्रोतहरुले बताएका छन् ।

को हुन् नयाँ भारतीय विदेशसचिव 

शृंगला विदेश सचिव हुनुभन्दा अघि अमेरिकाका लागि भारतका राजदूत थिए । त्यसअघि उनले बंगलादेशका लागि भारतको उच्चायुक्त र थाइल्याण्डको लागि भारतको राजदूतका रुपमा समेत काम गरिसकेका छन् । उनी भारतको विदेश सेवामा सन् १९८४मा प्रवेश गरेका हुन् । उनले बंगलादेशसँगको सीमा समस्या समाधानमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी अंग्रेजी र हिन्दीका अतिरिक्त भियतनामी, फ्रेन्च र नेपाली भाषामा पनि पोख्त मानिन्छन् । उनी भारतीय विदेश मन्त्रालयमा बंगलादेश, म्यान्मार, श्रीलंका र माल्दिभ्स मामिलाका प्रमुखका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

भारतका विदेश सचिव शृंगलाको मावली नेपाल भएको जनाइएको छ । उनका पिता छिरिङ्ग शृंगला दार्जीलिङ्गमा पढ्दै गर्दा त्यहाँ पढ्न गएकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध गाँसिएको थियो । उनले त्यसपछि हरिदेवीसँग नै विवाह गरेको र सचिव शृंगला परिवारको जेठो छोरो भएको बताइएको छ ।

शृंगलाका कान्छो मामाकी छोरी रुपा बस्नेतले यसअघि बाह्रखरीसँगको कुराकानीमा भनेकी थिइन् ,‘‘दाजु पहिला मामाघरमा आइरहनु हुन्थ्यो । तर, पछिल्लो समयमा जागिरको सिलसिलामा विभिन्न स्थानमा जानुपर्ने भएकोले आउन पाउनु भएको थिएन । नेपालीका भाञ्जा भारतको विदेश सचिव हुँदा दुई देशको सम्बन्ध राम्रो हुने अपेक्षा गरेका छौं ।’’

पछिल्लो विवाद कसरी 

भारतको गृह मन्त्रालयले २ नोभेम्बर २०१९ का दिन नयाँ नक्सा जारी गरेपछि नेपालले भारतको नक्सा वक्तव्य मार्फत नै अस्वीकार गरेको थियो । भारतले भने नयाँ नक्सा पहिलाको भन्दा परिमार्जन नभएको औपचारिक भनाइ राखेको थियो ।

त्यसपछि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक समेत बोलाएका थिए भने नेपालका तर्फबाट कूटनीतिक नोट पनि पठाइएको थियो । कूटनीतिक नोटको जवाफमा भारतले नेपालसँग संवाद गर्न आफू इच्छुक भएको बताएको थियो ।

यो मामिलालाई लिएर प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममार्फत भारतलाई आफ्ना सेना फिर्ता लैजान पनि आग्रह गरेका थिए । यही क्रममा भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले पनि भारतका विदेश सचिव विजय गोखलेसँग नक्सा जारी भएको छैठौं दिनमै नोभेम्बर ८ मा नयाँदिल्लीमा भेटेर चासो व्यक्त गरेका थिए । सीमा समस्या लामो समयदेखि नै रहे पनि पछिल्लो समयमा यो चर्किनुको कारण भने नक्सा प्रकरण नै हो । baahrakhari

Back to top button