एकतापछि पहिलोपटक नेकपा केन्द्रीय समितिको बैठक बुधबार बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । ‘अब केन्द्रीय समिति बैठक बस्ने गरी सम्पूर्ण तयारी पूरा भएको छ’, केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त) ले बताए ।

गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो ।एकतापछि केन्द्रीय समिति जम्बो (४४१ सदस्य) बनेको नेकपाको अब हुने उक्त बैठकमा आमन्त्रित नेतासहित ४४७ जना नेता सहभागी हुनेछन् ।

पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न असहज हुने भएपछि उक्त बैठक राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । पार्टीले पाँच दिनका लागि सभागृह बुकिङ गरिसकेको कार्यालय सचिव ढकालले बताए । ‘बैठकका लागि बुकिङ गरिसकेका छौं, अन्य आवश्यक तयारी पनि सोमबारभित्र सक्छौं’, ढकालले भने । महासचिव विष्णु पौडेल र कार्यालय सचिवद्वय ढकाल र ईश्वर रिजालले आइतबार सभागृह पुगेर बैठक कक्षदेखि सभागृहमा गर्नुपर्ने अन्य तयारीका बारेमा जानकारीसमेत लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नै बैठकको तयारीका विषयमा केन्द्रीत रहेर छलफलमा बसेका दुई अध्यक्षको निर्देशनपछि महासचिव पौडेलको नेतृत्वको टोलीले सभागृह पुगेर बैठकस्थलको अवलोकन गरेका छन् । बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावका विषयमा पार्टी नेताबीच समूह विभाजन गरी छलफल गराउने तयारी अध्यक्षद्धयले गरेका छन् ।

बैठकको पहिलो दिन अध्यक्षद्धयका तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिवका तर्फवाट विधान संशोधन प्रस्ताव पेश भएपछि सहभागी नेताको समूह विभाजन गर्ने नेकपाले जनाएको छ । समूह विभाजन गरेपछि प्रतिवेदन माथिको समूह छलफलका लागि भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडास्थित कार्यालय र सभागृह गरी तीन स्थानमा ठाउँ व्यवस्थापन गरिन लागिएको छ । ‘समूह छलफल सहज रूपमा होस् भन्न तीन ठाउँमा गराउने तयारी भएको छ, यसरी गर्दा ठाउँ सहज पुग्छ पनि’, ढकालले भने ।

केन्द्रीय समितिका सबै सदस्यलाई बोल्न दिँदा समय व्यवस्थापन जटिल हुने भएकाले समूह विभाजन गरी महाधिवेशन शैलीमा बैठक सञ्चालन गर्ने योजना छ ।देशभर परिचालन भएका नेकपाका केन्द्रीय समिति सदस्यलाई पार्टी बैठकमा आउँदा खाने बस्ने व्यवस्था आफैं मिलाउन केन्द्रीय कार्यालयले सूचना पठाएको छ । कार्यालय सचिवद्वयले आवश्यक तयारी पूरा भएको र दस्तावेज छपाई बाँकी रहेको सचिव ढकालले वताए ।

दुई अध्यक्ष चार घण्टा छलफलमा

केन्द्रीय समिति बैठक, बैठकमा पेश गर्ने राजनीतिक दस्तावेज, विधान संशोधन प्रस्ताव लगायतका विषयमा नेकपाका दुई अध्यक्ष ओली–दाहालले छलफलसमेत गरेका छन् । आइतबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा ओली–दाहालले छलफल गरेका हुन् । ‘छलफलमा पार्टी केन्द्रीय समिति बैठकको तयारी, सभामुख चयनपछि उपसभामुख चुनाव, विभिन्न राजनीतिक नियुक्तिदेखि एमसीसीमा पार्टी धारणा लगायतका विषयमा केन्द्रीत रहेर दुई अध्यक्षले छलफल गर्नुभएको बुझिन्छ’, बालुवाटार स्रोतले भन्यो । बैठकमा केहीबेर महासचिव पौडेल पनि सहभागी थिए । अन्नपूर्ण

Back to top button