
विराटनगर । प्रदेश सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने परियोजनाका लागि नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच सम्झौता भएको छ ।
प्रदेश १ सरकारले आफ्नो विकास परियोजनामा खर्च गर्न सक्ने गरी पहिलोपटक यो सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ विराटनगरमा शुक्रबार एक औपचारिक कार्यक्रमबीच अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भन क्याप्लरले आ–आफ्नो सरकारका तर्फबाट द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।
प्रदेश १ मा खर्च गर्ने गरी स्विट्जरल्यान्ड सरकारले एक अर्ब अनुदान र प्रदेश १ सरकारको २० करोड गरी प्रस्तावित कार्यक्रमको बजेट एक अर्ब २० करोडको हुनेछ । यसको प्रथम चरणको अवधि ४ वर्षको हुनेछ । वैदेशिक सहायता प्रदेश सरकारले खर्च गर्ने गरी काठमाडौ बाहिर पहिलोपटक सम्झौता भएको कार्यक्रममा जानकारी दिइयो । सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी अर्थमन्त्री युवराज खतिवडाले प्रादेशिक तहमा पहिलो वैदेशिक सहयोग प्राप्त भएको बताए ।
सरकारले द्विपक्षीय र बहुपक्षीय रूपमा पनि वैदेशिक सहयोग तथा अनुदान लिन सक्छ । पूर्वाधार विकासमा नेपालको अहिलेको आवश्यकता वैदेशिक सहायता र ऋण पनि हो ।’’ अर्थमन्त्री खतिवडाले तिर्न नसक्ने गरी नभएर त्यसलाई सही तवरले सदुपयोग गर्दै विकासमा अघि बढ्न गरी र अल्पविकसित अवस्थाबाट माथि उठ्न चाहिएको बताए ।