ताप्लेजुङमा पेन्सनबाट विद्यार्थीलाई खाजा दिने को हुन् यी व्यक्ति ?

ताप्लेजुङ । विद्यालयमा ३८ वर्षसम्म बालबालिकालाई सावाँ अक्षर सिकाएर जागिरे जीवनबाट अवकाश पाउँदा उनले गरेको अनुभवमध्ये एउटा हो– दिउँसो खाजा खान पाए विद्यार्थीले मन लगाएर पढ्छन् ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्दन प्रसाइंले अनुभवमात्रै गरेनन्, व्यावहारिक रूपमा आफूले गर्न सक्नेसम्म गरिरहेका छन् । फावाखोलाको कालिका प्रावि, सादेवाको सिद्धेश्वरी निमावि, फूलबारीको गुप्तेश्वर मावि हुँदै आफ्नै गाउँ हाङपाङको सरस्वती मावि आएपछि १५ वर्ष पढाएका उनले पेसामै रहँदा त्यसलाई कार्यान्वयन गर्न सकेनन् । एक जनाले मात्रै दिँदा अरू शिक्षकले के भन्लान्, तल्लो कक्षाका लागि दिँदा माथिल्लो कक्षाले हामीलाई चाहिँ किन नदिएको भन्ने सोच्लान् जस्तो लाग्थ्यो । जब अवकाश भए, त्यही दिनबाट आफूले पढाएको अन्तिम विद्यालयमा खाजा कार्यक्रम सुरु गरे ।

२०६८ मंसिरमा अवकाश भएका उनले अझैसम्म यसलाई निरन्तरता दिएका छन् । अवकाश भएकै दिन खाजा कार्यक्रमका लागि ५० हजार रुपैयाँ विद्यालयलाई बुझाए । आमाबुबाको निधनपछि बरखीको सेता लुगा लगाएका बेला आमा पवित्रा प्रसाईंका नाममा खाजा कार्यक्रम सुरु गरे । उनका आमाबुबाको चार महिनाको अन्तरमा निधन भएको थियो ।

उनको योजनाअनुसार विद्यालय पुरी, तरकारी र रोटीलगायतका खाजा खुवाइदिन सहमत भयो । सुरु गर्दा खाजा खाने बालकक्षामा २६ जना विद्यार्थी थिए । अहिले विद्यालयले प्राथमिक तहलाई खाजा खुवाउँछ । नर्सरी तहको जिम्मा भने उनकै छ । विद्यालयले पठाएको बिलको रकम उनी भुक्तान गर्छन् । बालकक्षाकालाई मात्रै खुवाउँदा उनको मासिक १६ हजार रुपैयाँ खर्च हुन्छ । मासिक २५ हजार पेन्सन आउने भएकाले उनले त्यही रकमबाट विद्यालयलाई खाजा खर्च दिने गरेका छन् । ‘मैले पढाउँदाताका पनि हरेक दिन गोजीमा चकलेट, अमला, अम्बाजस्ता फलफूल र मिठाई बोकेर स्कुल पुग्थें,’ प्रसाईंले भने, ‘नानीहरू झुम्मिन्थे । अवकाश पाए पनि उनीहरूलाई खाजा खुवाउन पाउँदा खुसी लाग्छ ।’

दुई छोरा र एक छोरीका पिता ६९ वर्षीय प्रसाईं श्रीमती लक्ष्मीका साथ गाउँमै बस्छन् । खाजा कार्यक्रम मात्रै नभएर विद्यालयको भवन निर्माणलगायतमा पनि सहयोग गरेका छन् । आफ्ना भाइ, छोरा, छोरीलाई पनि सहयोगका लागि उत्प्रेरित गर्छन् । उनलाई सहयोगका लागि उनका बुबाले प्रोत्साहित गरेका हुन् । हाङपाङ माविलाई उच्च मावि बनाउँदा ५१ हजार सहयोग गरेका थिए । त्यतिबेला पाँच मन अलैंची बेच्दा नपुगेपछि जनार्दनले दुई महिनाको तलब थपेर सहयोग गरेका थिए । त्यो बेला मासिक तलब ८ हजार थियो । विद्यालय भवन बनाउँदा आफूले ५० हजार दिए । जेठो छोरो फणीन्द्र प्रसाईं नेपाल प्रहरीको डीएसपी, कान्छो लोकेन्द्र (सशस्त्र प्रहरीमा सई) र छोरी पुष्पलता धरानमा मावि शिक्षक लाई २५ हजारका दरले सहयोग गर्न लगाए । भाइहरू खगेन्द्र र तेजेन्द्रले पनि २५ हजारका दरले सहयोग गरे ।

अवकाशपछि अलैंची खेतीमा लागेका उनले विद्यालयमा अक्षय कोष खडा गर्ने योजना पनि बनाएका थिए । तर अलैंचीको मूल्य घटेर लगानीअनुसारको आम्दानी नभएपछि गर्न सकेका छैनन् । छोराछोरी आफैं गरिखाने भएकाले बाँचुन्जेल सहयोग गर्ने प्रसाईं बताउँछन् ।

टाढाबाट आउने बालबालिकालाई बिहान १० देखि ४ बजेसम्म बस्दा थकान र भोक लाग्ने भएकाले हरेक विद्यालयमा खाजा कार्यक्रम हुनुपर्ने उनको धारणा छ । खान नपाए दिउँसो १ बजेपछि हाईहाई गर्ने, पढ्नमा मन नलगाउनेजस्ता समस्या बालबालिकामा हुने गरेको उनले सुनाए । ‘दिन बित्दै जाँदा भोकाउँछन् नि,’ उनले भने, ‘त्यसैले सकेको सहयोग गरेको हुँ ।’ ekantipur.com

Back to top button