
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन्।
गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ। गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन्।
त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ। आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन्। २० करोड नदिए कम्पनीको १० प्रतिशत सेयर दिन गिरीले भनेको प्रसाईंले उजुरीमा बताएका छन्।