संक्रमणकालीन न्यायबारे आज एकैपटक सातै प्रदेशमा छलफल

काठमाडौं । संक्रमणकालीन न्यायका बाँकी काम कसरी अघि बढाउने भन्ने बारेमा सरकारले आज सातै प्रदेशमा छलफल शुरु गरेको छ । विराटनगरमा दिउँसो १ बजेबाट छलफल सुरु हुँदैछ ।

प्रदेश १ को छलफल होटल एसियाटिक एयरपोर्ट रोडमा राखिएको छ भने प्रदेश २ को होटल मसला कटेज, जनकपुर, प्रदेश ३ को होटल एभोकार्डो हेटौडा, गण्डकी प्रदेशको ड्रागन होटल पोखरा, प्रदेश ५ को होटल महाराज, वुटवल, कर्णाली प्रदेशमा नमस्ते नेपाल, सुर्खेत र सुदूर पश्चिमको पोलिटेक्निक इन्स्टिच्युट धनगढीमा कार्यक्रम भइरहेका छन् ।

पीडितहरुले भने यो कार्यक्रमको आलोचनात्मक समर्थन गरेका छन् । संक्रमणकालीन न्याय प्रक्रियामा अहिले भइरहेको ऐन सर्बोच्च अदालतको आदेश अनुसार पुनरवलोकन गर्नुपर्ने र सत्य र बेपत्ता सम्बन्धी दुई आयोगको पुनर्गठन प्रक्रियालाई अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसार गर्नुपर्ने माग उनीहरुको छ ।

द्वन्द्वपीडित सुमन अधिकारीले सरकारको आजको परामर्श नियन्त्रित र देखावटी भएको आरोप लगाएका छन् । यस्तै अर्का द्वन्द्वपीडित रामकुमार भण्डारीले आफूहरुको त्यसमा आलोचनात्मक सहभागिता रहने जनाउँदै के गरिने रहेछ त्यो हेर्ने बताए । यसलाई प्रभावकारी बनाउनका लागि दबाब दिने उदेश्यले आज बिहान ९ देखि १० बजे सम्म माइतीघर मण्डलामा पीडितहरुले प्रदर्शन समेत गरेका थिए ।

Back to top button