विराटनगर भन्सारमा आयात निर्यात १२ दिन बन्द, आयात निर्यात ठप्प

विराटनगर ।  मर्मतका लागि भन्दै भारतले मीरगञ्ज पुलबाट हुने आवगमन बिहीबार बिहानबाट पुन बन्द गरेको छ । पुल बन्द गर्दा नेपालमा हुने आयात निर्यात ठप्प भएको छ ।

यो पुल हुँदै नेपालकै दोस्रो ठुलो नाका विराटनगर भन्सारबाट भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको थियो । भारतको बथनाहामा रहेको मीरगञ्ज पुल मर्मतका लागि भन्दै भारतले १२ दिन बन्द गर्ने बताएको छ ।

भारतले यस अघि ९ दिन बन्द गरेर एकसाता अघि मात्र पुल सञ्चालनको अनुमति दिएको थियो । पुन बिहीबार (आज) बाट माघ ६ गतेसम्म पुल बन्द गर्ने सूचना नेपाललाई दिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।

भारतले पुलबाट आयात निर्यात बन्द गरे पनि विकल्पमा अन्य रुट प्रयोग गर्नसमेत नदिएको भन्सार अधिकारीले जानकारी दिएका छन् ।  विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पोखरेलका अनुसार भारतले तेस्रो मुलुकबाट सामान लिएर आएका सवारी साधनलाई मात्र वैकल्पिक रुट प्रयोग गर्न दिने बताएको छ ।

तेस्रो मुलुकबाट आयत भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडान लिएको छ । विराटनगर नाका हुँदै भित्रने औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री भारतबाट आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगी बताउँछन् ।

Back to top button