
विराटनगर। सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट इन्डस्ट्रिजमा मंगलबार राती भएको आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट करोडौंको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार क्षतिको विस्तृत विवरण आइसकेको छैन । बिस्कुट र बिस्कुटका र्यापर राखिएको गोदामबाट आगो सुरू हुँदा यसले भयानक रूप लिएको थियो । आगोले उद्योगका मेसिनलाई पनि असर पुर्याएको छ ।
राति ८ बजे सुरू भएको आगो मध्यरात साढे १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर प्रवीण कार्कीले बताए । आगो नियन्त्रणमा लिन विराटनगर, इटहरी, इनरुवा, धरान, सप्तरी, सिराहा र उदयपुर लगायतका विभिन्न ठाउँबाट दमकल बोलाउनु परेको थियो । पशुपति बिस्कुट चौधरी ग्रुपको पहिलो उद्योग हो । यसको सञ्चालन हाल वसन्त चौधरीले गरिरहेका छन् ।