आहा ! कन्याम : ‘गर्मीमा चिस्याउने, जाडोमा तताउने’ (फोटो फिचर)

इलाम । हुस्सुले ढाकिएको आकाशमा, तुसारो पर्लाजस्तो मौषम हुनसाथ झापा बिर्तामोडका आदित्य पौडेल र हेमराज निरौला मोटरसाईकलमा इलामको कन्याम हुँईकिए । विहानको चिसो हावामा मोटरसाइकलमा दौडनु सहज त थिएन तर कन्याम पुगेपछिको न्यानो घाममा बसेर कफी खाँदै चिया बगानको बिचमा सेल्फि खिच्नुको मजाले मोटरसाईकलको गति मात्र होईन उनिहरुको मनको गति पनि उतै बढाईरहेको थियो ।

बाटोमा भेट्ने साथिले सोधे ‘घाम ताप्न कन्याम हिड्या’ उनिहरुको जवाफ हुन्थ्यो । सोध्ने पनि अचम्ममा पर्दै प्रश्न गर्थे झापामा भन्दा कन्याममा तातो ? हो कन्याममा हुन्छ पनि यस्तै । हिउँदको मुटु छेड्ने चिसोमा न्यानो खोज्न होस वा वर्षायामको पिल्सने गर्मी छल्दै चिसो खान, तराईका बासिन्दाको रोजाइमा पर्छ इलामको कन्याम ।

‘गर्मिमा त इलाममा चिसो खान हिड्या भन्ने जवाफ दिदा धेरैले पत्याउँछन् तर हिउँदमा तराईमा भन्दा कन्याममा तातो हुन्छ भन्दा धेरैले विश्वास गर्दैनन् ।’ कन्याममा विहानको घाम सँगै रमाईरहेका बिर्तामोडका आदित्य पौडेलले भने । पछिल्लो समय कन्याम क्षेत्रमा बाह्रै महिना आन्तरिक तथा बाह्रय पर्यटकको कमि हुँदैन ।

वर्षातमा गर्मि छल्लन र हिउँदमा जाडो छल्न र रमाउन विहानै देखी यो स्थानमा युवायुवतीको चाप पनि उस्तै हुन्छ । हिउँदमा त अझै झापामा तुवालोले ढाकेपछि विहानै देखि कन्याममा विहानको न्यानो घाम ताप्दै चिया कफि खानेको भिडनै लाग्ने गरेको कन्यामका व्यवसायी बताउछन् । ‘यो स्थानलाई धेरैले अचम्मको स्थान भन्छन्, गर्मिमा चिसो, जाडोमा न्यानो, त्यसैले कन्यामको महत्व चिया सँग मात्र जोडिएको छैन ।’ कन्यामका व्यापारी विवस तामाङ बताउँछन् ।

‘कलेज छुट्टि हुँदा, शनिवार र चाडपर्वमा त रमाइलो गर्ने ठाउँनै कन्याम हो, केहि घण्टामा आईन्छ, मजाले रमाएर केहि घण्टामानै झरीन्छ किन नआउने कन्याम ?’ झापा बुधबारेकी शिला श्रेष्ठ बताउँछिन । चिया बगानमा घुम्न, फोटो खिच्न, चिसोमा तातो चिया र कफि पिउँदै केहि घण्टा मनोरञ्जन गर्न नै यहाँ पुग्नेको मुख्य उद्धेश्य हुन्छ ।

कन्यामका चिया बगानमा रमाईरहेका युवायुवतीहरु ।

तराईबाट पहाडको भिरालो जमिन उक्लन र ओर्लन चाहनेको इच्छा पनि यो स्थानले पुरा गरेको हुन्छ भने, हिमाल हेर्ने र सेल्फि खिच्नेको पनि मन कन्यामले जितेको छ । ‘विभिन्न देश र देशका विभिन्न स्थानबाट आउने पर्यटकहरुले इलामको कन्याममा मस्ती गर्छन् । नाँच्छन्, गाउँछन्, एकछिन भए पनि चियाका बुटा र प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन्, अझै युवाहरुले त एक पटक पुग्नै पर्ने ठाउँको सुचिमानै राखेर घुम्न पनि आएका हुन्छन् ।’ कन्यामकै स्थानिय युवा सकल सुब्बा बताउँछन् ।

‘कुहरोसँग लुकामारी गरिरहने, शीतल मौसम पूर्वको पर्यटकीय गन्तव्य कन्यामको विशेषता हो ।’ यहाँ भेटिने जो कोहिलाई सोधे दिईने उत्तर यस्तै हुन्छ । यस्तो मनमोहक स्थानमा चियाका बुट्टासँग लुकामारी खेल्दै रमाइने युवायुवती मात्र होईन प्रेमीप्रमिका पनि कम हुँदैनन् । ‘पिकनिक स्थलको रुमपा प्रख्यात कन्याम विस्तारै ‘डेटिङ स्पट’ को रूपमा समेत चिनिन थालेको छ ।’ स्थानिय व्यवसायी सुरेखा श्रेष्ठ बताउछिन् ।

यहाँको सुन्दर चियाबारीको आनन्दम रमाउन छिमेकी जिल्लाका साथै काठमाडौं र देशभरका युवायुवती आउने गरेका छन् । प्राय ः आन्तरिक पर्यटकको चहलपहल भइरहने कन्याममा शनिबार र बिदाका दिन भने युवायुवतीले भरिभराउन नैहुने गर्दछ । हिउँदे शनिबारमा दर्जनौं वनभोज टोली त्यस क्षेत्रमा हुन्छन् ।

बनभोज खाने घेडा चढेर घुम्ने र फोटो खिच्नेको भिडनै यहाँ हुन्छ । बाह्रै महिना रहने चिसोे हावापानी, लहरै मिलेर डाँडै ढाक्ने गरी रहेको चिया बगान, लभडाँडा, देउराली डाँडा, हावासँगै सुसाउने सल्ला घारी र लेप्चा र नेवार जातीको परम्परागत सांस्कृतिक र ग्रामीण रहनसहन र रितिरिवाज यहाँका प्रमुख संपती हुन् ।

मौसम सफा भएको दिन उत्तरतर्फ मुसुक्क मुस्कुराएर पर्यटकहरुलाई स्वागत गरिरहेको कञ्चनजंघा हिमाललाई आफ्नै आँखा अगाडी निँयाल्न सकिन्छ भने दक्षिणतर्फ तराईका विशाल समथर फाँट र नदीनाला अवलोकन गर्न सकिन्छ साथै इलाम, झापा र भारतका विभिन्न स्थानहरुको पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

शब्द/तस्बिर : रविन भट्टराई,

Back to top button