
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर १ बाट नेकपाले उम्मेदवारको टुंगो लगाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।
जसमा, एक नम्बर प्रदेशमा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । इन्दु गौतम र देवेन्द्र दाहाल पुर्व एमाले र गोपी अछामी पुर्व माओवादिबाट उम्मेदवार बनेका हुन् ।
मतदाताहरुको नामावली प्रकाशन
यसैबिच प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताहरुको नामावली प्रकाशन समेत गरिएको छ । प्रदेश १ का लागि जिल्ला निर्वाचन कार्यालय मोरङस्थित राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयमा मतदाता नामावली टाँस गरिएको हो ।
प्रदेश १ मा एक जना महिला, एक जना दलित र एक जना अन्य गरी ३ जना राष्ट्रिय सभाको सदस्यका लागि निर्वाचन हुदैछ । प्रदेश १ मा २७४ जना स्थानीय तहका प्रमुख, उप–प्रमुख र ९३ जना प्रदेश सभा सदस्यहरु मतदाताको रुपमा रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेपनि उम्मेद्वार बारे भने चर्चा समेत शुरु भएको छैन । निर्वाचन कार्यक्रम अनुसार पुष २० गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।