ताप्लेजुङमा व्यावसायिक बट्टाईपालन, आम्दानी लोभलाग्दो

ताप्लेजुङ । पछिल्लो समय बट्टाई चराको मासु र अण्डाको व्यापार हुन थालेपछि ताप्लेजुङमा समेत यसको व्यावसायिक पालन शुरू भएको छ । थोरै लगानीमै शुरू गर्न र राम्रो आम्दानी लिन सकिने भएकाले यो व्यवासायमा किसानको आकर्षण समेत बढेको छ ।

सन्तोष पुर्कुटी अभियान दैनिकमा लेख्छन् जिल्ला सदरमुकाम फुङलिङ लगायतका स्थानीयवासीले घरैमा बट्टाईपालन गर्नुका साथै यसबाट आम्दानी समेत लिन थालेका छन् । ‘थोरै लगानीबाट पनि व्यावसायिक रूपमा बट्टाईपालन गर्न सकिने रहेछ,’ फुङलिङका सुवास घिसिङले भने, ‘बजार माग र मूल्य पनि राम्रो देखेपछि यो व्यवसाय शुरू गरेको छु ।’ उत्पादित बट्टाई र यसका अण्डा विक्रीका लागि बजारको समस्या नरहेको उनले सुनाए । उनका अनुसार बट्टाई चराको चल्ला पालेको एक महीनामै बेच्न योग्य हुन्छ । यस्तै एक महीना अवधि कटेपछि यसले अण्डा समेत दिन थाल्ने उनले बताए ।

बजारमा बट्टाई प्रतिगोटा २०० रुपैयाँसम्ममा विक्री भइरहेको घिसिङले बताए । ‘विशेषगरी होटलमा बढी विक्री हुने भएकाले बजार खोज्दै हिँड्नुपरेको छैन,’ उनले भने । बट्टाईका चल्ला भने धरान, इटहरी लगायत ठाउँबाट ल्याउने गरिएको उनले बताए । शुरू शुरूमा चल्ला नै किनेर ल्याउने गरिएकोमा अब भने स्थानीयस्तरमै उत्पादनको तयारी भइरहेको उनले जानकारी दिए । बट्टाई चराको अण्डालाई चल्ला निकाल्ने क्रममा रहेको कुखुराको वासस्थानमा राखे कुखुराले समेत कोरल्न सक्ने उनको अनुभव छ । पछिल्लो समय जिल्लामा घरायसी उपभोग र विक्रीका लागि बट्टाई चरा पाल्नेहरू थपिँदै गएका छन् । यसले स्थानीयस्तरमै स्वरोजगार उद्यमीको सृजना समेत गरेको छ ।

Back to top button