कोशी करिडोर निर्माण तीव्र

खाँदबारी । सङ्खुवासभाका स्थानीय खोलाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा सङ्कलन गर्ने उद्देश्यले निर्माण थालिएको २२० केभी क्षमताको कोशी करिडोर अन्तर्गतका विद्युत् प्रसारणलाइनको काम धमाधम भइरहेको छ।

विद्युत् प्राधिकरणको लगानीमा सुनसरी जिल्लाको इनरुवादेखि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारसम्मको १०५ किमिको काम तीव्र गतिमा भइरहेको छ। कोशी करिडोर प्रसारणलाइन प्रदेश १ को सङ्खुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको छ । इनरुवादेखि तुम्लिङटारसम्म ३२१ वटा टावर निर्माण भइरहेका छन्। त्यसमा सङ्खुवासभाको दक्षिणी सिमाना टुटे देउरालीदेखि तुम्लिङटारसम्मको २९।५ किमि लम्बाइमा ९७ वटा टावर निर्माणको ६० प्रतिशत काम सकिएको कोशी करिडोरका सहायक प्रबन्धक भूपेश श्रेष्ठले जानकारी दिए।

सङ्खुवासभाको टुटे देउरालीदेखि तुम्लिङटारसम्मको ९७ टावरमध्ये अहिलेसम्म ५४ टावर निर्माण भइसकेको छ भने २७ टावरको फाउन्डेसन खनिसकेको छ। बाँकी १६ टावर निर्माणको काम चाँडै थालिने र चैनपुरको बानेश्वर र तुम्लिङटारमा सवस्टेसनको काम भइरहेको सहायक प्रबन्धक श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अबको पाँच महिनाभित्र सवस्टेसनको काम सकिनेछ।

जिल्लाको माया खोला, हेवा खोला र इखुवा खोलालगायत स्थानीय खोलानालाबाट उत्पादन भएको विद्युत्लाई एकै ठाउँमा सङ्कलन गरी केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले कोशी करिडोर प्रसारण लाइन बनाइएको हो। विद्युत् प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता (पिपिए) यसअघि नै गरिसकेको छ। प्राधिकरणले प्रसारणलाइन निर्माण गर्न नसकेमा स्थानीय खोलाबाट उत्पादन भएको विद्युत् त्यत्तिकै खेर जाने अवस्था छ। रासस

Back to top button