प्रदेश १ मा पर्यटन वर्षको उद्घाटन भव्य, हेलिकोप्टरबाट पुष्पबृष्टि र बेलुनबाट झण्डोत्तलन

विराटनगर । सबैभन्दा धेरै पर्यटकिय क्षेत्र र विश्वकै ध्यान तान्ने सगरमाथा भएको प्रदेश १ मा पर्यटन भ्रमण वर्षको भव्य उद्धघाटन गरिएको छ । बुधबार प्रदेश राजधानी विराटनगर स्थित शहीद रंगशालामा भव्य समारोहका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमणवर्षको उद्घाटन गरेका हुन् ।

उद्घाटनको आकर्षण भने हेलिकोप्टरबाट पुष्प बृष्टि र बेलुनबाट झण्डोत्तलन देखिन्थ्यो । उद्धघाटन समारोहमा विद्यार्थी, सेनाको झाँकी, प्रहरीको मार्चपास, विभिन्न समुदायको गीत तथा नृत्यका प्रस्तुत गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले समृद्ध नेपाल र सुःखी नेपालीको साझा चाहनालाई पुरा गर्न भ्रमण वर्षले सहयोग पुग्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षमा पर्यटक भित्र्याउन प्रदेश १ सरकारले केवलकार, बहुजातिय संग्राहलय, होमस्टे निर्माणमा जोड दिएको उनले बताए ।

विश्वकै अग्लो सगरमाथा, नेपालकै होचो भाग केचनाकवल र नेपालकै होचो उपत्यका अरुण पनि प्रदेश १ मै रहेको मुख्यमन्त्री राईले बताए । तीनवटा राष्ट्रिय निकुञ्ज र एक आरक्ष रहेको प्रदेश १ का विभिन्न क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन प्रदेश सरकारले कुनै कसुर नछाड्ने उनको भनाइ छ ।

उद्घाटन समारोहमा भारत सिक्किम सरकारका प्रचार संयोजक वीरेन्द्र ताम्ली, पश्चिम बंगाल सिलिगुडीका पर्यटन व्यवसायी राज बासुलगायतको सहभागिता थियो । व्यवसायी बासुले नेपाली भाषामा मन्तव्य राख्दै प्रदेश १ मा पर्यटनको सम्भावना भएका धेरै क्षेत्र भएको बताउँदै कोशी टप्पुको अझ प्रचार हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा प्रदेश १ मा जन्मिएर नेपालका ख्याति कमाएका व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति लगायतलाई सम्मान गरिएको छ ।

Back to top button