बिर्तामोडमा अत्याधुनिक क्यान्सर अस्पतालको सेवा प्रारम्भ (फोटो फिचर)

झापा । झापाको बिर्तामोडमा निर्माण भएको अत्याधुनिक उपकरण सहितको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ । अग्रेजी नयाँ वर्षको अवसर पार्दै अस्पताल सञ्चालकद्धय दुर्गा प्रसाई र ईन्दिरा गिरीले पानसमा बत्ति बालेर संयुक्त रुपमा अस्पतालको सुभारम्भ गरेका हुन् ।

करिब १ विगाहा जग्गामा ४ सय करोड रुपैयाँको लागतमा अस्पतालको निर्माण गरिएको हो । बिर्तामोडमा रहेको बि एण्ड सी अस्पतालको भगिनी संस्थाको रुपमा अत्याधुनिक प्रविधि सहितको निर्माण गरिएको क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एशियाकै नमूना बनाएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दाबी गरे । उनका अनुसार २१ औं शताब्दीकै अत्याधुनिक उपकरण अस्पतालले भित्र्याएको छ ।

‘नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएका हौँ,’ निर्देशक प्रसाईँले भने ‘यो प्रविधि अमेरीका र सिंगापुरमा छ, भारतले जोड्ने तयारी गर्दैछ, त्यसैले दक्षिण पूर्वी एसियाकै नमुना भनेका हौँ ।’ यो प्रविधिको मेसिने क्यान्सरका बिरामीलाई एक मिनेटमानै रेडिएसन दिनसक्ने बाताइएको छ । यो प्रविधिलाई ‘ट्रु बिम लिनियर एक्सेलेरेटर’ भनिने क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले बताए ।

 

अस्पताल रहेको स्थान बिर्तामोडबाट १८ सय किलोमिटरको पेरिफेरीमा यो प्रविधिको अस्पताल नभएको अस्पतालको दाबी छ । क्यान्सर पीडितले उपचारका लागि भारतको दिल्ली सम्म पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल खोलेको कार्यकारी निर्देशक प्रसाईले बताए ।

‘म आफैं क्यान्सरको रोगी भएकाले यहीँ उपचार सम्भव छ भन्ने सन्देश सहित अत्याधुनिक उपकरण राखेर अस्पताल खोलिएको हुँ, भारतमा जाँदा भारु २० लाख लाग्ने उपचार हामी नेपालमा नेरु १० लाखमानै दिन सक्छौँ’, उनले उदाहरण दिदै भने ‘अब क्यानसर लागेर नेपालमा कोही मर्नुपर्दैन, यसको अभियान नयाँ वर्षबाट हामिले गरेका हौँ ।’

‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ’ क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले भने ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्नेछ ।’ बि एण्ड सी अस्पतालसँगै जोडिएको तथा एउटै समूहले लगानी गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्याक्रियाका लागि पाँच वटा मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा रहेको छ ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही झापाका २८ वर्षिय पदम मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ भने उनको क्यानसरको सम्पुर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए ।

Back to top button