तीन लाख धरौटीमा छुटेका सिद्धबाबा पुनः अस्पताल भर्ना

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छुटेलगत्तै अस्पतालमै भर्ना गरिएको छ ।

जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई उपचारका लागि भन्दै पुनः विराटनगरको विराटनगर अस्पताल एवम् विराट नर्सिङ होममा ल्याइएको हो । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उजुरी दिएपछि प्रहरीले उनी विरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

छाती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै मंसिर १२ गतेबाट कृष्णबहादुर अस्पताल भर्ना भएका थिए ।
अवस्था गम्भीर बनेको भन्दै उनलाई आइसीयूमा पनि भर्ना गरिएको थियो। प्रहरीले आइसीयूदेखि नै पक्राउ गरेर अदालतबाट मंसिर १६ गते पहिलो पटक म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले अदालतबाट अनुसन्धानका लागि चार पटकसम्म म्याद थप गरे पनि उनको अनुसन्धान अवधि अस्पतालको डिलक्स रुममै बित्यो । उनले प्रहरी हिरासतमा बस्न परेन । डिलक्स रुमलाई नै हिरासत बनाएका उनीसँग अस्पतालको शैय्याबाटै बयान लिइएको थियो ।

चार पटकसम्म अनुसन्धानको म्याद थप गरेको अदालतले पनि उपचारका लागि अस्पतालमा भर्ना गरेर अनुसन्धान अधिकृत र सरकारी वकिललाई कृष्णबहादुरमाथि त्यहीँबाट घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । म्याद थप तथा अदालतमा पेस गर्ने क्रममा उनलाई सुनसरी लैजान र त्यहाँबाट फर्काएर विराटनगर ल्याउन पटक–पटक विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्स प्रयोग गरियो ।

अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सोमबार दिउँसो ४ बजे उनलाई त्यही एम्बुलेन्समा राखेर अस्पताल ल्याइयो । कृष्णबहादुरलाई ल्याइपुर्‍याउनु अघि नै उनका समर्थक र अनुयायीको अस्पतालमा भीड लागेको थियो । एम्बुलेन्सबाट ओराल्दै गर्दा समर्थनमा भेला भएका महिला तथा पुरुषले उनलाई सास्टाङ्ग दण्डवत प्रणाम गरे । उनले अनुयायीतिर हेरेर हात उठाउँदै प्रणाम फर्काए ।

त्यसपछि ह्वीलचेयरमा राखेर कृष्णबहादुरलाई ९ नम्बर डिलक्स रुममा लगियो । अनुसन्धान अवधिमा उपचारका लागि भन्दै अस्पतालको यही रुममा उनलाई बढी राखिएको थियो । आफू बिरामी रहेकाले बोल्न नमिल्ने भन्दै कृष्णबहादुरले लामो समयसम्म बयान दिन अस्वीकार गर्दै आएका थिए । तर बलात्कार आरोप जस्तो गम्भीर विषयको अनुसन्धान जतिसक्दो चाँडो टुङ्ग्याउनु पर्ने प्रहरी अधिकारीले बताएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेपछि आरोप अस्वीकार गरेका उनलाई चिकित्सकले ‘माइनर हटअट्याक’ भएको बताएका छन् ।

उनको उपचार अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा। ज्ञानेन्द्र गिरीले गरिरहेका छन् । डा। गिरीले अझै पनि कृष्णबहादुर खतरामुक्त नरहेको जानकारी दिए । ‘माइनर हटअट्याक’ सँगै उहाँलाई स्वास्थ्य सम्बन्धी अन्य धेरै समस्या रहेकाले अवस्था खतरापूर्ण छ,’ अन्नपूर्णसँग उनले भने, ‘त्यही भएर अझै केही दिन चिकित्सकको निगरानीमै अस्पतालमा राखेर उपचार गराउनु पर्ने हुन्छ ।’

जोखिमबाट बाहिर नभएका कारण लामो समयदेखि निरन्तर उपचार गरिरहनु परेको जानकारी डा। गिरीले दिए । भने, ‘सिद्धबाबालाई देखिएको ‘रिक्स मेनेज’ गर्न अस्पतालमै राख्नु पर्ने हुन्छ ।’ डा। गिरीले लामो समयदेखि उपचाररत कृष्णबहादुरका बारेमा आफूले अदालतमा पनि यही कुरा लेखेर पठाइदिएको उल्लेख गरे ।

Back to top button