
काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँसेर पुस २७ गतेसम्मका लागि सरेको छ । बुधबार बस्ने भनिएको बैठक नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुखको विषयमा कुरा नमिल्दा प्रतिनिधिसभा बैठक १२ दिन पछाडि धकेलिएको हो ।
प्रतिनिधिसभा बैठक यसअघिसमेत पटकपटक सर्दै आएको थियो । पुस ४ गते बस्ने भनिएको बैठक ११ गतेका लागि सरेको थियो । ११ गते बैठक बस्न नसकेपछि १६ गतेका लागि सारिएको हो । त्यो बेला प्रचण्ड चितवनमा भएकाले कुरा नमिलेको बताइएको थियो ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच सभामुखको विषयमा कुरा नमिल्दा बैठक सरेको बालुवाटार स्रोतको दाबी छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको मुद्दामा जेल चलान भएपछि सभामुख पद खाली छ ।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्नेमा जोड दिएका छन् । उता प्रचण्डले भने पूर्वमाओवादी कोटाबाट सभामुख बनेका महरा जेल चलान भएपनि त्यही समूहबाट सभामुख बनाउनुपर्ने अडानलाई यथावत राखेका छन् ।
प्रचण्डले सभामुखको रुपमा अग्नि सापकोटाको नाम अगाडि सारेका छन् । पूर्व(माओवादी गुटबाट सभामुखमा देव गुरुङ र पम्फा भुसालको नामसमेत चर्चामा छ । यता उपसभामुख शिवमाया तुम्बाहाङफेले भने आफै सभामुख बन्नुपर्ने दाबी गर्दै आएकी छन् ।नेताहरुबीच सहमति नहुँदा उनको राजीनामासमेत रोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत उपसभामुखलाई नै सभामुख बनाउनु उपयुक्त हुने सुझाव नेकपाका केही नेतालाई दिएकी थिइन् ।