‘भ्रमण वर्ष २०२०’ : उद्घाटनमा चार देशका पर्यटनमन्त्री आउने, तयारी पुरा

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्धघाटन समारोहमा सहभागी हुन चार देशका पर्यटनमन्त्री नेपाल आउने भएका छन् ।

जनवरी १ अर्थात १६ गते दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन छिमेकी देश भारत, चीन, जमैका र म्यानमारका पर्यटनमन्त्री आउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को तयारी पूरा भएको समेत जनाएका छन् । पर्यटनमन्त्री भट्टराईका अनुसार सोही समयमा सातौ प्रदेशमा एक साथ भ्रमण वर्षको शुभारम्भ हुने समेत जानकारी दिए ।

प्रदेश नम्बर एकको विराटनगर, प्रदेश नम्बर २ को जानकी मन्दिर, प्रदेश नम्बर तीनमा चितवनको सौराहा, गण्डकी प्रदेशमा पोखराको लेकसाइड, प्रदेश नम्बर ५ मा बर्दिया, प्रदेश कर्णाली प्रदेशमा सुर्खेतको बुलबुल ताल र सुदूरपश्चिम प्रदेशमा धनगढीमा एकैसाथ भ्रमण वर्षको उद्घाटन हुनेछ ।

सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भका दिन देशभर दीपापली गरेर स्वागत गर्न आह्वान पनि गरेको छ । डिसेम्बर २५ तारिखदेखि नेपाल आउने विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत, मुख्य पर्यटकीय स्थलहरु काठमाडौंको ठमेल, चितवनको सौराहा, पोखराको लेकसाइडमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल सरकारले जनाएको छ ।

Back to top button