
विराटनगर । संघीय प्रहरी कानून निर्माण र सुरक्षा संबेदनशिलताका विषयमा सातवटै प्रदेशका गृहमन्त्री समिलित बैठक विराटनगरमा सुरु भएको छ । शनिबार विराटनगर स्थीत एक होटलमा आयोजित बैठकमा सहभागी बन्न सातै प्रदेशका मन्त्री, सचिव र न्यायधिवक्ता शुक्रबारनै विराटनगर आएका थिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समेत उपस्थितमा शनिबार विहानबाट छलफल सुरु भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले छलफलमा हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुने उद्धघाटन कार्यक्रममा बताए । उनका अनुसार संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनका विषयमा पनि छलफल हुनेछ ।
यस अघि प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्रीको अगुवाईमा हेटौडामा सातवटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो । शनिबार विहानबाट भएको छलफलको निष्कर्ष दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ ।
शनिबारको छलफल सबै प्रदेशमा संघीय प्रहरी कानून नबाझिने गरी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने बताइएको छ । यस अघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानून संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।
प्रदेश ५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको थियो । संविधान अनुसार संघीय कानूनसँग नबाझिने गरी प्रदेशले कानून बनाएर लागू गराउन सक्ने प्रावधान छ ।