‘सिद्धबाबा’को अदालतले आजदेखि बयान लिदै

विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको बलात्कार मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । वयान पनि शुक्रबारबाटै सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु भएको हो ।

मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो । गत कात्तिक ४ मा बाबाजीले आफूमाथि बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई पक्राउ गरेको थियो । यद्यपि उनलाई हिरासतमा नराखी अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखिँदै आएको छ ।

बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो । २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।

नर्सिङहोमको आइसीयुमा बसेका गिरी भीआइपी बलात्कार आरोपी हुन् । उनको निजी सुरक्षाका लागि सरकारले प्रहरी हवल्दार नै खटाउँदै आएको छ ।

Back to top button