अदालतमा ‘सिद्धबाबा’, बाहिर ‘श्रीराम जय राम’ र ‘फाँसी दे’को नारा (भिडियो)

बयान सकियो, आइतबारबाट बहस हुने

सुनसरी । बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार सकिएको छ । सरकारी वकिलको कार्यालयले बिहिबार अभियोग पत्रसहित मिसिल बुझाएपछि शुक्रबार बयान सकिएको हो ।

जिल्ला न्यायाधिस राधाकृष्ण उप्रेतीको इजलासमा गिरीले बयान दिएका थिए । बयान पछि गिरीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनलाई भने उपचारका लागि विराट नर्सिङहोममा नै लगिएको छ । सिद्धबाबाको मुद्दामा गिरी पक्षबाट सरोज गिरी, मोहन कोइराला, रूपेश कोइराला डा. रमेश पराजुलीले बहस गर्नेछन् । महिलाको पक्षमा सरकारी वकिल गोकुल निरौला, अनिल रेग्मी निराजन ओझासहित ६ जनाले बहस गर्नेछन् ।

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीलाई ७–१० वर्ष कैदको सजाय माग गरिएको छ । मूलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३(ङ) बमोजिम कैद सजाय माग गरिएको छ । गिरीलाई ७ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।

‘श्रीराम जय राम’ र ‘फाँसी दे’को नारा

भित्र बयान लिने काम भैरहंदा बाहिर भने उनका समर्थकहरुले नारा लगाएका थिए । निधारमा चन्दन लगाएका समर्थकहरुले बाहिर ‘श्री राम जय राम’ को नारा लगाए । अदालतको गेटै छेउमा भेला भएका उनीहरुले कृष्णदासको जयजयकार समेत गरेका थिए ।

समर्थकको संख्या देखाएर मुद्धालाई प्रभावित पार्न खोज्ने कृष्णदास पक्षधरहरुलाई सुनसरीका अधिकारकर्मी महिलाहरुले ‘काउन्टर’ दिएका थिए । सुनसरीका विभिन्न ठाउँहरुबाट पुगेका महिला अधिकारकर्मीहरुले कृष्णदासविरुद्ध चर्का नारा लगाएका थिए । ‘बलात्कारीलाई फाँसी दे’, ‘महिला हिंसा बन्द गर’ लगायतका नारा लगाएका थिए ।

(हेरौँ भिडियो)

Back to top button