
विराटनगर । संघीय प्रहरी कानूनका विषयमा छलफल गर्न सातवटै प्रदेशका गृहमन्त्री विराटनगरमा भेला भएका छन् । शनिबार प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हुने छलफलमा सहभागी बन्न सातै प्रदेशका मन्त्री, सचिव र न्यायधिवक्ता शुक्रबार विराटनगर आएका हुन् ।
छलफलमा हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुनेछ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनका विषयमा पनि छलफल हुनेछ । यस अघि प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री जम्कट्टेलको अगुवाईमा हेटौडामा सात वटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो ।
सबै प्रदेशमा संघीय प्रहरी कानून नबाझिने गरी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहने बताइएको छ । यस अघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानून संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।
प्रदेश ५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको थियो । संविधान अनुसार संघीय कानूनसँग नबाझिने गरी प्रदेशले कानून बनाएर लागू गराउन सक्ने प्रावधान छ ।